बागलुङ, १५ चैत – अहिलेको असामान्य परिस्थिति, नागरिक अगुवा, हाईप्रोफाइल बिजनेस टाइकुनदेखि राजनीतिक दलका नेताहरुको दिनचर्या कसरी बितिरहेको छ, हरेकको जिज्ञासा हो यो । धेरैलाई लाग्न सक्छ पक्कै पनि फरक फरक छ होला उनीहरुको सेड्युल ! हरेकलाई लाग्ने विश्वास त्यही हो, तर भिन्न छैन उनीहरुको दैनिकी पनि ।
कोभिड–१९ को संक्रमण रोक्न देशनै लकडाउन भएसँगै घरभित्रै सीमित छन् आशाका विश्वासहरु पनि । विश्व स्वास्थ्य संगठनले ‘लकडाउन’लाई कोरोना संक्रमण रोक्न एउटा ‘अवसरको ढोका’ भनेको छ । कोलाहलपूर्ण शहर एकाएक सन्नाटामा बद्लिनुको सन्देश हो– ‘नागरिकले लकडाउनको आदेशलाई पूर्ण पालना गरिरहेका छन् ।’ लकडाउनपछि सुनसान गाउँ गुल्जार बनेका छन् । संसद नचलेपछि बिजनेसबिहिन बनेका कतिपय माननीयले अध्ययनमा समय बिताईरहेका छन्भने कतिपयले घरभित्र बसेर मुलुकको अवस्थालाई नियालिरहेका छन् । कानुन बनाउने माननीयहरुका सामाजिक संजालमा पोष्ट गरेका विचारले पनि त्यस्तै भनिरहेको छ । सवै आफ्नै जीवनरक्षाको चौघेराभित्र रमाइरहेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर संचालन गरेको पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान कोरोना भाइरसका कारण रोकिएको छ । पार्टी अभियानसंगै कोरोना भाइरसबारे सचेतना चलाएको थियो । तर त्यो अभियान अहिले रोकिएको छ । अभियान लिएर गाउँ–गाउँमा पुगेका नेताहरु अहिले घरमै बसेर लकडाउनको पालना गरिरहेका छन् । ‘देश लकडाउन गएपछि त्यसको कार्यान्वयन गर्नैपर्छ ।’ बानपा–१२ अमलाचौरको घरमा दिन बिताईरहेका संघीय सांसद डा. सूर्य पाठकले भने– ‘कोरोना भाइरस विरुद्धको युद्ध जित्न अनुशासनमा बस्नुपर्छ । कोरोनाबारे देशविदेशमा भईरहेका गतिविधि नियाल्ने र समाचार फलो गर्ने काम भईरहेको छ ।’ सांसद पाठकले कोरोना भाइरसको विरुद्व लड्न सरकारले स्थापना गरेको ‘राहत कोष’मा एक महिनाको तलब उपलब्ध गराउने घोषणा गरेका छन् ।
बेनी नगरपालिका–१ रत्नेचौर घर भएका संघिय सांसद भूपेन्द्र वहादुर थापाको ध्यान ‘म्याग्दीको इतिहास’ सम्बन्धि पुस्तकमा केन्द्रित छ । पुस्तक अध्ययनसंगै टिभी हेर्ने र कोरोना सम्बन्धि जिल्लामा के भईरहेको छ भन्नेबारे समाचारमा अपडेट हुने काम भएको छ’ सांसद थापाले भने । कोरोना संक्रमण भित्रन नदिन हरेक नागरिक संयमित भएर लकडाउनको आदेशलाई पालना गर्नुपर्ने थापाको सुझाव छ ।
अर्का सांसद पर्वतका पदम गिरीको दिनचर्या पनि पुस्तक अध्ययन, कोरोना भाइरस सम्बन्धी समाचार अपडेट हरेर नै बित्ने गरेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङ्ग स्थित घरमै रहेका सांसद गिरीले भने– ‘घरमै बसेर देशको अवस्था नियालिरहेको छु ।’ सरकारले गरेको निर्णय कार्यायन्वयन गराउने दायित्व पुरा गर्न आफु क्रियाशिल रहेको सांसद गिरीको भनाई छ । प्रतिनिधिसभा सांसद पदम गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।
‘कार्यक्रम सहभागी हुने र साथीभाईसँग भेटघाट गरिरहेको बानी भुलाउन गाह्रो हुँदोरहेछ’ पोखरास्थित डेरामा रहेका गण्डकी प्रदेशसभाका सांसद इन्द्रलाल सापकोटाले सरकारको निर्णय कार्यान्वयन गराउन हामी सबैले डेलीलाइफ परिवर्तन गराउन जरुरी भएको बताए । ‘कोरोना सम्बन्धि समाचार सम्प्रेषण गर्ने, साथीहरुलाई सरसहयोग गर्ने र पुस्तक पढेर दिन बित्ने गरेको छ’ सांसद सापकोटाले ढोरपाटनसंग भने । नेकपा बागलुङका जिल्ला अध्यक्ष समेत रहेका सापकोटालाई लकडाउनले पोखरामा नै थुनेको छ ।
‘जहाँ बसेपनि बन्दी जीवन हो, त्यसैले पोखरामै छु’ नेपाली कांग्रेसका गण्डकी प्रदेश सांसद मणिभद्र शर्मा कँडेलले भने– ‘अध्ययन गर्ने, समाचार अपेडेट गरेर दिन बिताउने काम भएको छ ।’ नेकपा सांसद चन्द्र बुढा सागर पोखरामा छन् । ‘होम क्वारेन्टाइनमा दिन बितेको छ’ गण्डकी प्रदेश सांसद बुढाले भने– ‘घाम ताप्ने र अध्ययन गर्ने त्यहीँ त हो ।’ कांग्रेस सांसद कोपिला बोहराले समाचार हेरेर दिन कटाएको प्रतिक्रिया दिइन् । ‘गाउँ आउने कार्यक्रम थियो लकडाउनले रोकियो’ पोखरामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले भने– ‘परिवारसँग बसेर आफ्नो क्षेत्रका गुनासो सुन्ने काम गरिरहेको छु ।’





