पोखरा, १६ चैत – अन्नपूर्ण पदयात्रा मार्ग र पोखरा वरपर रहेका विदेशी शनिबार पनि उद्धार गरि काठमाण्डौ लगिएको छ । शनिबार पोखराबाट ३ वटा चाटर्ड विमान र ८ वटा बसमा गरि करिब ३२० जनाजति काठमाण्डौं गएका छन् । श्री एयरलायन्सको दुईवटा र यतिको एउटा उडानबाट १३८ जना काठमाण्डौ गएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । उनका अनुसार यति एयरलायन्सको पहिलो उडानबाट ७० जना, दोस्रो उडानबाट ५० जना तथा यतिको उडानबाट १८ जना काठमाण्डौ गएका हुन् । पहिला दुईवटा उडानको व्यवस्थापन नेपाल पर्यटन बोर्डले गरेको हो भने यति एयरलायन्स भने जर्मन दूताबासले चाटर्ड गरेको हो । अघिल्ला दुई उडानको पैसा पर्यटक स्वयंले तिरेका हुन् । पछिल्लो उडानमा जर्मन नागरिकहरु थिए भने अघिल्ला दुई उडानमा सबै देशका नागरिकहरु रहेका थिए । यता बसमा भने तीनवटा बस चारवटा कोष्टरबाट करिब १८० जनालाई काठमाण्डौ पठाइएको छ ।
‘अझै पनि पोखरा र वरपर करिब ३ सयको संख्यामा विदेशी पर्यटक रहेको अनुमान छ, हामी उनीहरुबारे जानकारी बटुल्दै छौँ’,पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने,‘तीमध्ये केही नेपाल बस्न चाहन्छन् भने जानेहरु पनि छन् ।’ यसैबीच शनिबार मात्रै २१ देशका ५१ जना पर्यटकलाई मुस्ताङबाट पोखरा पठाइएको छ । उनीहरुको साथमा ८ जना पथप्रदर्शन पनि रहेका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार मुस्ताङमा अझै ८÷९ जना पर्यटक बाँकी छन् । उनीहरु आफै मुस्ताङ बस्न चाहन्छन् ।
यता, पोखरामा लामो भिसा भएका र नेपालमै बस्न चाहनेहरु दूताबासको सम्पर्कमा रहेको टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल ( टान ) पश्चिमाञ्चलका वरिष्ठ उपाध्यक्ष सुशील पौडेलले जनाए । यसअघि बुद्ध एयर र यतिबाट १७ जनाको उद्धार गरिएको थियो । बिहीबार बुद्ध एयरलाई फ्रान्सेली दूताबासले र शुक्रबार यतिको चार्डर्ट युरोपियन युनियनले गरेका थिए ।





