आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आपतमा छैन अंचल अस्पतालमा आईसियु

आपतमा छैन अंचल अस्पतालमा आईसियु


  • तारानाथ आचार्य
  • चैत्र १६ २०७६, आइतबार

बागलुङ, १६ चैत– धौलागिरीका झण्डै ६ लाख सर्वसाधारणको उपचार केन्द्र हो, सदरमुकाम बागलुङस्थित धौलागिरी अञ्चल अस्पताल । चार जिल्लाका बिरामीले उपचार गर्न सक्नेगरी स्थापना भएको यो अस्पतालमा आपतकालिन अवस्थामा बिरामी राख्ने आईसियुको व्यवस्था भने छैन ।
विश्वव्यापी महामरीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमण हुनसक्ने त्राससँगै अञ्चल अस्पतालमा आईसियुको अभाव महशुस गर्न थालिएको छ । आईसियुमा बस्नुपर्ने अवस्थामा यहाँ आउने गरेका बिरामीलाई पोखराका बिभिन्न अस्पतालमा गरिदै आईएको छ ।
‘हामीसँग आईसियुका लागि इक्युपमेण्टहरु छैनन्, जनशक्ति पनि केही थप्नुपर्ने हुन्छ’ अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बि. पोखरेलले भने– ‘कोरोनाका सामान्य बिरामी आए हामीसँग आईसोलेसन बेड छ, तर भेण्टिलेटर चलाउनुपर्ने अवस्थामा हामीले बिरामी लिन सक्दैनौं ।’ ‘कोरोनाको संक्रमण भएर उच्च ज्वरो तथा अन्य लक्षण देखापरे आईसियुमा राखेर अक्सिजन दिनुपर्ने हुन्छ, संक्रमण फैलिएर बिरामी आएभने अस्पतालले सुविधा दिन सक्ने अवस्था नरहेको डा. पोखरेलले बताए ।
कोरोनाको सन्त्रास धौलागिरीका सबै जिल्लामा छ । केही दिनअघि प्रान्सबाट कतारहुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ देखा परेसँगै उनीसँगै आएकाहरुको खोजी भैरहेको छ । सँगै जहाजमा आउनेहरु पर्वत, बागलुङ लगायतका जिल्लाका रहेकाले सम्भावित संक्रमणको खतरा यहाँ छ । ‘आईसियुको लागि हामीले आएदेखिनै प्रयास थालेका हौं’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले भने ‘सरकार केही पठाउँदैन, हामीले चाहेर मात्रै हुनेकुरा रहेनछ ।’
आईसियुका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको तयारीमा आँफुहरु रहेको भएपनि मेडिकल इक्युपमेण्टकै ग्यारेण्टी नभएको अध्यक्ष रानाको दाबी छ । कोभिड–१९ का बिरामी आएमा वा अन्य समयमा समेत अस्पतालमा आईसियुको आवश्यकता रहेको उनको भनाई छ । केन्द्र र प्रदेश सरकार दुवैले झण्डै ६ लाख सर्वसाधारणको हितमा हुनेगरी सोच्नुपर्ने बेला आएको उनले बताए । अस्पतालले कोभिड–१९ सँग जुध्न यसअघि नै आपताकालिन सहयता कक्ष लगायत आईसोलेसन बेडको व्यवस्था गरेको छ । अस्पतालले बनाएको आईसोलेसनमा भेण्टिलेटरमा राख्नुपर्ने बिरामी राख्न नसकिने डा. पोखरेल बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->