बागलुङ, १६ चैत– कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते नेपाल आएका बागलुङको ढोरपाटन नगरपालिकाका एक युवाको कोरोना परीक्षण गरिने भएको छ । बेल्जियमबाट कतारहुँदै सोही बिमानमा नेपाल आएकी बागलुङकै एक युवतीमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि बुर्तिवाङका युवाको स्वाब परीक्षणको तयारी थालिएको हो । स्वास्थ्य कार्यालय बागलुङको प्राबिधिक टोली ति युवाको स्वाबको नमुना संकलनका लागि सदरमुकाम बागलुङ बजारबाट ढोरपाटन प्रस्थान गरेको छ । आजै उनको नमुना संकलन हुने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । यसअघि उनीसँगै सोही जहाजमा आएकी काठमाण्डौकी युवतीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । ति युवा गत चैत ११ गतेदेखि होम क्वारेण्टाईनमा बस्दै आएका छन् । कोरोना संक्रमणको कुनैपनि संकेत देखा नपरेकाले यसअभि उनको स्वाब परीक्षणका लागि लिईएको थिएन् । शनिबार सँगै आएकी बागलुङकै अर्की युवतीमा संक्रमण देखा परेपछि उनको पनि परीक्षण प्रक्रिया अघि बढेको हो ।





