आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

के देखाउन बनाईएका हुन्– ‘क्‍वारेन्टाइन’ ?

के देखाउन बनाईएका हुन्– ‘क्‍वारेन्टाइन’ ?

जिम्मेबारी दिएका र पाएकाहरुले काम नगर्दा संकटको बेला नेतृत्वविहिन बनेका छन् सर्वसाधारण नागरिक ।


  • तारानाथ आचार्य
  • चैत्र १७ २०७६, सोमबार

बागलुङ, १७ चैत– जिल्लाको अवस्था कस्तो छ ? तयारी के–के हुँदैछ ? भैपरी आयोभने हामीलाई सघाउने कोही छ ? सर्वसाधारणबाट आउने जिज्ञासाको सामना गर्न सरोरवालाहरुको उत्तर रेडिमेट छ– ‘प्रकृया पु¥याईएका धेरै काम भएका छन् ।’ तर, मन्त्रालय र बिभागका निर्देशनका आधारमा बनेका बिभिन्न समिति तथा समुहको देखिने काम भने खोज्दै हिँड्नुपर्ने अवस्था छ ।
कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले देशनै लकडाउन गरेपछि बागलुङमा हल्ला र गफमा धेरै काम भएका छन् । प्रत्येक स्थानीय तहमा क्वारेन्टाइन निर्माण भएका छन् । तर, यो पंक्ति लेखिरहँदा स्थानीय सरकारले बनाएका ति क्वारेन्टाईन रित्ता छन् । सबै आफ्नै घरमा बसेका छन् । ‘बिदेशबाट आएकाहरुलाई होम क्वारेन्टाईनमा बस्न भनिएको छ, यसका लागि घरदैलो गरेका छौं’ काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले भने, ‘क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था छैन ।’
जिल्लाको समग्र बस्तुस्थितिको बिषयमा जानकारी कलेक्सन गरिरहेको ¥यापिड रेस्पोन्स टिमका संयोजक सुरज गुरौले सार्वजनिक गरेको तथ्यांकमा पनि अहिलेसम्म स्थानीय तहले बनाएका क्वारेन्टाईन रित्ता छन् ।
बेल्जियमबाट कतारहुँदै बागलुङ आएकी एक युवती संक्रमित भएको पुष्टि भयो । उनी संक्रमण पुष्टि हुने बेलासम्म पनि गाउँ डुल्दै थिईन । उनकै छिमेकीका अनुसार, होम क्वारेन्टाइनमा बसेको भन्ने हल्ला मात्रै हो । उनी कहाँ–कहाँ गईन, ककस्लाई भेटिन भन्ने बिषयमा अहिले बल्ल खोजी सुरु भएको छ । ‘हामीले ट्रेसिङ गर्दैछौं’ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौ भन्छन्, ‘लसपस भएकाहरुलाई क्वारेन्टाईनमा बस्न भन्छौं ।’
उनीसँगै एउटै जहाजमा आएका ढोरपाटन नगरपालिकाका एक युवालाई त उनी गाउँमै छन् भन्ने मात्रै खोजियो । ढोनपाले क्वारेन्टाईन बनाएको छ । उनलाई आवश्यक ठानेको भए कम्तिमा १४ दिन त्यहाँ राख्न सकिन्थ्यो भन्छन् स्थानीय ।
कोरोना संक्रमित कुँडुलेकी युवतीको घर आएको १२ दिनपछि मात्रै नमुना संकलन भयो । सरोकारवालाको गंभीर बेवास्ताले समस्या विकराल बन्नेमा सर्वसाधारण सशंकित छन् । ‘बिदेशबाट आएकालाई १४ दिन क्वारेन्टाईन राखेर परीक्षण गर्न सकेको भए हामी डराउनु पर्ने थिएन्’ बागलुङ नगरपालिका–१४ का लालप्रसाद शर्मा भन्छन् ‘खै के–के बनाईम् भन्छन् सुरक्षित केही गर्दैनन् ।’
गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा काठमाडौको निर्देशनमा जिल्लामा कोरोना नियन्त्रणका लागि कमाण्ड पोस्ट बनेको छ । प्रजिअ नेतृत्वको पोष्टमा जिल्लाका सुरक्षा प्रमुख र जनप्रतिनिधि छन् । यो पोष्टको काम र कर्तव्यबारे सर्वसाधारण अनभिज्ञ छन् । ‘अनुगमन, ट्रेसिङ र सुरक्षा लगायतका जिम्मेवारी पोष्टलाई छ’ एक सदस्यले भने ‘बैठक बसेर माथिका निर्देशनको पालना गर्ने काम मात्रै भएको छ ।’
जिल्लामा धेरै मानिस बैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरुको तथ्यांक अध्यावधिक गर्ने काम स्थानीय तहले अझै सकेका छैनन् । ‘बिदेशबाट आएका साथीहरु कृपया एकान्तबासमा बसिदिनुहोला, बाँचे हजुरहरुले ल्याएका चकलेट खाम्ला फेरी रमाम्ला’ भन्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सोसलसाइटमार्फत अपिल गरेका छन् । तर, उनकै निकायले बनाएको भिमसेन माविको क्वारेन्टाइन भने खाली छ ।
कमाण्ड पोष्टले पनि यो विषयमा खासै चासो देखाएको पाईंदैन । स्थानीयले नियम मिचेर सवारी चलाएको भन्दै भण्डाराका सावरी चालक बाबुराम शर्मालाई स्थायीयको निगरानीमा होम क्वारेन्टाईन पठाएका छन् । तर, त्यहीँ नगरमा के कति विदेशबाट आए भन्ने बिषयमा एकिन तथ्यांक छैन । नियम मिचेको बहानामा भनसुनका आधारमा चालक क्वारेन्टाईनमा राख्नेले शान्ति माविमा बनाएको २० बेडको क्वारेन्टाईनमा भने कसैलाई राखिएको छैन ।
हेल्लो डाक्टर अनकल ः छैन बिरामीको रेकर्ड
धौलागिरी अञ्चल अस्पतालले हेल्लो डाक्टर अनकल समुह बनाएको छ । अन्तरंग सेवा बन्द गरेको अस्पतालमा यो संकट सुरु हुनुपूर्व दैनिक ३ सयभन्दा धेरै बिरामी आउँथे । अहिले ती बिरामीको सहजताका लागि बनाईएको अनकल नम्बरहरु नै नउठ्ने गरेको सर्वसाधारणको गुनासो छ । ‘ज्वरो आयो, रुघा लाग्यो, प्रसुतीसेवा छ छैन भनेर फोन आउँछन्’ डा. सिर्जना अर्यालले भनिन् ‘पाँच जनालाई अलग–अलग फोन आउँछ, कस्कोमा कति आए भन्ने के थाहा हुन्छ र ?’ बिरामीले सल्लाह पाएपाएनन् भनेर ‘अनकल’ सेवामा खटिएका डाक्टरहरुले अहिलेसम्म कुनै छलफल गरेका छैनन् ।
जिम्मेबारी दिएका र पाएकाहरुले काम नगर्दा संकटको बेला नेतृत्वविहिन बनेका छन् सर्वसाधारण । त्यसको असर शनिबार साँझ कोरोना पोजेटिभ देखिएकी युवतीलाई उपचारका लागि कहाँ लैजाने भन्ने बिषयमा समस्या देखाप¥यो । अस्पतालले बिरामी लिन नमानेपछि गृह मन्त्रालयको निर्देशनै कुर्नुपरेको थियो । अहिले हल्लाभन्दा पनि काम गरेर परिणाम देखाउने बेला हो, तर यसैमा धेरै अलमल छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->