पोखरा, १८ चैत – कोरोना भाइरस (कोभिड –१९) ले विश्व हल्लाएको छ । हल्लाएको मात्रै छैन, अधिकांश देश ‘लक डाउन’मा छन् । लक डाउनमा सवारी चल्ने कुरै भएन । बाहिर निस्कन पनि नहुने । घरमै बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । लकडाउनले परिवारसँग सँगै बस्ने अवसर त दिएको छ तर भाडदौडको जीवनलाई घरभित्रै सीमित राख्न सजिलो छैन । अझ, बाहिर हिँड्न नपाउँदा कहिले मन बहकिन्छ,कहिले दिमाग घुम्छ । टेलिभिजन हेर्ने,मोबाइल चलाउने सुतेर नै दिन बिताउँदा मन एकोहोरिन पनि सक्छ । कतिपयको घरमा त आजकल विद्युतीय दौडने मेसिन,व्यायामका सामान हुनेहरुको छुट्टै कुरा । सामान्य मान्छेमा भने हिँड्न नपाउँदा शारीरिक कसरतसमेत गर्न छाडेका छन् । यसले मानिसमा आलस्यता ल्याउनेदेखि अन्य रोगहरु समेत निम्त्याउन सक्ने सम्भावना देखिएको छ ।
यस्तोमा गर्ने के त ?
खेल प्रशिक्षकहरु भन्छन्,‘ घरभित्रै शारिरीक व्यायाम गर्ने, घरभित्रै खेल खेल्ने । खुल्ला ठाउामा मर्निङ वाक जिम नगरे पनि घरमै बसेर नाच्ने देखि पुुसअप, सेटअप, स्ट्रेचिङ्ग,योगलगायतका व्यायाम गर्नुपर्छ ।’ बालबालिकाका कुरा सुन्ने, उनीहरुलाई कथा, कविता,गीत र संगीत सुनाउने तथा कोठामै बसेर वा भुइँमै योग गर्नाले समय त बित्छ नै,यसले शरिर मनलाई पनि स्वस्थ राख्छ ।
नाच्न सक्छौँ : मञ्जु गुरुङ ( पूर्व राष्ट्रिय भलिबल खेलाडी)
कोरोनाले विश्व खेलकुद पनि मारमा परेको छ । यस्तो अवस्थामा घरमै पनि जुम्बा वा नाच्न सक्छौँ । स्वास्थ्यको लागि खेलकुद महत्वपूर्ण पाटो हो । लकडाउनको समयमा घरमै बसेर घरको काम गर्ने,गीत गाएर नाच्ने काम पनि गर्न सकिन्छ । घरमा भलिबल भए खेल्न सकिन्छ ।
योग ध्यानहरु पनि गर्न सकिन्छ ः उमा राई ( राष्ट्रिय महिला ह्यान्डबल खेलाडी )
खेलाडीहरुले होम क्वारेन्टाइनमा आफूले सिकेका शारीरिक व्यायामहरु गर्न सक्छन् , जिममा सिकेका कुरालाई पनि घरमा सहजै गर्न सकिन्छ । यस्तो अवस्थामा घरमै बसौँ । सचेत भएर आफूलाई कोरोनाबाट मात्र नभएर शारीरिक रुपमा पनि एक्टिभ राख्न आवश्क छ । सबै मिलेर राज्यलाई सहयौग गराँै घरमा बसेर कम्तिमा पनि १ घण्टा शारीरिक व्यायम, योगा, ध्यान, सेटअप पुसअप गर्नेगरौँ । घरमै पनि व्याडमिन्टनलगायतका खेल खेल्न सकिन्छ ।
खेल्न नछाडौँ : दिपक गोदार (अध्यक्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ नेपाल)
कोरोनाकै मात्र कुरा गर्दा मानिस डिप्रसनको सिकार हुन अवस्था छ । यसको औषधि भनेकै खेलकुद हो ।घरमा बसेको समयमा एथ्लेटिक्स अन्तर्गतका खेल खेल्न सकिन्छ । घरमै पनि जम्पिङ, स्किपिङि, सेटअप, पुसअप गर्न पनि सकिन्छ । घरको आगनमा, ढलानमा वा कोठाभित्रै पनि गर्न सकिन्छ । दिनभर सुत्नुभन्दा लुँडो खेल्ने, अन्ताक्षरी खेल्ने लगायतको खेल खेल्न पनि सकिन्छ । दिनको २ घण्टा व्यायाम गर्दा शरीर स्वस्थ रहन्छ । मार्सलआर्ट सिकेकाहरुलाई एथलेटिक्ससम्बन्धि ज्ञान हुन्छ ।घरको छत,पिढीँ , ढलान बैठक कक्ष तथा कोठामा समेत सिकेका कुरा गर्न सक्छन । अरुले के भन्लान् भन्दापनि आफैले आफ्नो लागि गर्न आग्रह गर्दछु । खेलाडीभन्दा बाहिरका सन्दर्भमा हेर्दा बिहान टेलिभिजनले पनि एथलेटिक्स तथा योगहरु दिएको हुन्छ । त्यो हेर्दै योग गर्न अनुरोध गर्दछु । योग गर्दा आत्मबल बढ्छ । मोवाइलमात्र चलाउँदा बालबालिका तथा युवाहरु बढी एकोहोरो हुने देखिन्छ । परिवारसँग बसेर खेल्न पनि सकिन्छ । मान्छे एक्टिभ हुन आवश्यक छ । घरमा बसेर जोक गर्ने, हास्ने तथा रमाइलो गरेर बसे हामिलाई दैनिकी काट्नसमेत सहज हुन्छ ।





