पोखरा, १८ चैत – चैत्र १३ गते, लकडाउनको तेस्रो दिन । उनी खाना खाएर सुत्ने तर्खरमा थिए । राति १० बजे फोन आयो, ‘जन्मेर चार दिन भएको बच्चालाई जन्डिस भएकाले तुरुन्तै दुई युनिट बी नेगेटिभ ब्लड चढाउनुपर्ने भयो रे !’
लकडाउनले सुनसान थियो, पोखरा । दुईजना दाता खोजेर सोझै पश्चिमाञ्चल अस्पताल हानिए । बच्चाको सकुशल उपचार भयो । त्यसको अघिल्लोदिन मात्र कञ्चनपुर घर भएकी एकजना महिलाको डेलिभरी केसको लागि पाटन अस्पतालबाट बिरामीको आफन्तले उनलाई फोन गरेका थिए ।
उनलाईे दुई पिन्ट बी नेगेटिभ ब्लड चाहिएको रहेछ । यता, बेनीकी मिना पुनको अपरेशनको लागि चाहिने ओ पोजेटिभ ब्लडका लागि आफन्तले उनलाई नै सम्झे । कोरोना सन्त्रासले नेपाल नै ‘लकडाउन’ भएको समयमा रगतको लागि दैनिक नै १०÷१५ कल आइरहन्छ, उनलाई । लाग्छ, उनी जागिरे नै हुन् । कहिले आफै रक्तदान गर्छन् ,कहिले यताउता फोन घुमाउँछन् र दाता खोज्छन् । पोखरा,काठमाण्डौ, चितवन जहाँबाट भए पनि रगत व्यवस्था गराएरै छाड्छन् । उनी अर्थात्, रक्त व्यवस्थापनमा अहोरात्र तीर्थराज अवस्थी ।
संकटको बेलामा बिरामीको ज्यान जोगाउँदै हिड्ने उनै अवस्थीले अहिलेसम्म ६० पटकसम्म रक्तदान मात्र गरेका छैनन्, हजारौँ बिरामीहरुलाई रगत व्यवस्थापन गरिसकेका छन् ।
रगतसँगको यति घनिष्ट सम्बन्ध कसरी बन्यो त ? ‘मेरा एकजना दाईको भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरको उपचार हुँदैथियो । दुई पिन्ट बी पोजेटिभ रगत चाहियो,रगतको खोजीमा म ठाउँठाउँ भौतारिँए’, उनले १२ वर्षअघिको घटना सम्झे,‘ कलेज गेट, पर्खाल, बसको ढोका, क्यान्टिनको भित्तामा फलानो अस्पतालमा फलानो मान्छेलाई रगत चाहियो लेखेर टाँसे । त्यतिबेला मोबाइल फोनको सुविधा थिएन । पुछारमा घरबेटीको ल्यान्डलाइन नम्बर पनि छोडिदिन्थँे । पछि रगत त भेटियो तर दाईलाई हामीले बचाउन सकेनौँ ।’
त्यही दिनदेखि उनले संकल्प गरेका रहेछन्,‘रगतको अभावमा कोही छट्पटिन नपरोस् !’
जागिरको सिलसिलामा उनी पोखरा आए । रगत व्यवस्थापन सहज बनाउन पोखरामा पनि नेपाली स्वयंसेवी रक्तदाता समाजको स्थापना गरियो । त्यसैको संस्थापक अध्यक्ष बने, अवस्थी । अहिले कुनै अस्पतालमा रक्त अभाव होस् वा ब्लड ब्यांकमा, सबै उनलाई नै सम्झन्छन् । रक्तदान बारे अझै आम मानिसहरुको चेतनाको स्तर देख्दा उनलाई दुःख लाग्छ । ‘रक्तदान गरिए कमजोर भइन्छ, विभिन्न रोगहरु लाग्छन्, प्रतिरोधात्मक क्षमता घट्छ भन्ने आम मानिसहरुको बुझाइ अझै कायमै छ,’ उनले भने, ‘१८ वर्ष पुगेका हरेक स्वस्थ मानिसले हरेक ३÷३ महिनामा रक्तदान गर्न सक्छन् । यस अर्थमा पनि हामी सबैको घर नै ब्लड बैंक हो ।’
दिन रात रगत व्यवस्था गर्दा न उनलाई कुनै पैसा मिल्छ न भत्ता । बरु उल्टै यसका लागि उनको खल्ती रित्तिन्छ । ‘दिनमै २०÷३० पल्ट फोन गर्नु पर्ने हुन्छ । कति समय खर्चिन्छ, त्यसको लेखाजोखा गर्ने कुरा नै भएन’, उनले भने,‘ तर, यसबाट जुन सन्तुष्टि मिल्छ नि त्यो कुनै कुरासँग तुलना गर्न सकिदैन÷मिल्दैन ।’ आफैले रगत व्यवस्था गरिदिएर निको भएको बिरामी घर फर्कदा मुहारमा देखिने मुस्कान नै मूल्यवान लाग्छ रे, उनलाई ।
अवस्थीका अनुसार एउटा दशैँमा घर जान झोला कस्दै गर्दा कसैको फोन आयो । मणिपालमा रहेका एक बिरामीलाई रगत चाहिएको रहेछ । दशैँमा रगतको खोलो बग्छ तर मान्छेको शरीरमा चाहिने रगतको अभाव हुन्छ । उनले झोला थन्क्याए ।भाग्यको कुरो रगत पाइयो, बिरामी निको भए । डिस्चार्च भएपछि बिरामीका आफन्तले अवस्थीलाई भेट्न खोजे । उनी उपलब्ध नहुने कुरै भएन ।
‘उनीहरुले मेरो हातमा खाम थमाइदिए, त्यसमा ५० हजार थियो, मैले इन्कार गरेँ’, उनले भने,‘ मैले त्यो बेला भने मलाई खुसी देख्न चाहनुहन्छ भने पैसा लैजानुहोला ।’ आफूले पैसा लिने हो भने त्यो रगतको व्यापार हुने उनले सुनाए । रक्त व्यवस्थापनको नाममा खुलेका संस्थाले खुलेआम रगतको व्यापार गरेकोमा भने उनको घोर आपत्ति छ । सरकारीमा ७ सय पर्ने रगत निजीमा हजारभन्दा तल पाइँदैन ।
‘यो त सरासर व्यापार हो नि रगतको’,उनले भने,‘ सरकारबाट रगत सित्तैमा व्यवस्था गरिनु पर्ने बताउँदै उनले भने, ‘व्यापार नै गर्ने हो भने त्यस्ता संस्थाले अर्कै ठाउँमा हात हाले हुन्छ रगत माथिको धन्दा गैरकानूनी हो ।’ साइकल चढ्नु उनको शोख हो । उनी साइकलमै बत्तिन्छन्, मन लागेको ठाउँमा मौका मिलाएर पुग्छन् उनी जहाँ जान्छन्, ‘डोनेट ब्लड’ ट्याटु खोपिएको दाहिने हात हल्लाउँदै रक्तदानको महत्व बुझाउँछन् ।





