आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘रोगले भन्दा भोकले मर्ने चिन्ता भयो’

‘रोगले भन्दा भोकले मर्ने चिन्ता भयो’


  • ढोरपाटन संबाददाता
  • चैत्र १९ २०७६, बुधबार

पोखरा, १९ चैत – धादिङकी मुना आले मगर घरबाट पोखरा आएको १० दिन पनि भएको छैन । ज्याला मजदुरी गरेर खाने उनी पोखराको मालेपाटनमा भाडामा बस्छिन् । पोखरा आउनासाथ लकडाउन भयो । काम पाइने कुरै भएन । उनलाई कोरोना भाइरसको संक्रमण फैलिरहेको पनि थाहा छ । बाहिर निस्कनुहुन्न भन्ने पनि उनले बुझेकी छन् । तर, खानै नपाइएला कि भन्ने पीर दिनदिनै बढ्दो छ । यस्तैमा उनले सोमबार साँझ पोखरा महागनरपालिकाले राहत बाँड्दैछ भन्ने सुनिन् । अनि,मंगलबार टन्टलापुरमा घाममा उनी मालेपाटनकै बाराही माविमा नाम टिपाउन आइपुगिन् ।
‘घरबाट ल्याएको अलिअलि बाँकी छ, बन्द लम्बिएलाजस्तो छ’, लामो लाइनमा नाम टिपाउन आफ्नो पालो पर्खेकी उनले ढोरपाटनसँग भनिन्,‘अब त रोगले भन्दा पनि भोकले पो मरिएला भन्ने भयो ।’ भोकले नमरियोस् भनेरै राहतको लागि नाम टिपाउन आएको उनले बताइन् ।
यता,कास्कीकै लान्द्रकु घर भएका महेन्द्र गुरुङको १८ वर्षअघि रुखबाट लड्दा मेरुडण्ड भाँच्चियो । ह्विलचेयर साथी बन्यो । सरकारले दिने अपाङ्ग भत्ता र गाउँमा आउने पर्यटकले दिने सहयोगले बाँचेका उनी लकडाउनसँगै गाउँमा पर्यटक नआएपछि पोखरा झरे । पोखरा–५, पस्र्याङमा भाई बहिनीसँग बस्न आएका उनले पनि राहत पाइने कुरा सुने ।
‘घरबेटीले राहत बाँड्छन्, नाम लेखाउन जाऊ भनेपछि यहाँ आएँ’, उनले भने,‘म काम गर्न सक्दिन, बाँच्न त प¥यो नि ।’ परिस्थिति सहज भएको भए , खोटाङका मानबहादुर मगर यतिबेला अन्नपूर्ण पदयात्रा मार्गको कुनै बाटोमा गह्रौँ भारीसँगै पसिना पुछिरहेका हुन्थे । तर, लकडाउनले उनको जागिर खोसियो । १८ वर्षदेखि गर्दै आएको काम बन्द भए पनि मुख बन्द हुने कुरै भएन । कमाएको पैसाले घरका ७ जनालाई भरथेग गर्दै आएका उनी अहिले आफै भोकै पर्ने चिन्तामा छन् ।
‘काम रोकियो, बाँच्नु त प¥यो, ऋण गरेर चलाएको छु’, उनले भने,‘पैसा भए यो घाममा किन लाइन बसिन्थ्यो र ?’ यता, पोखराकै एक फेन्सी पसलमा काम गर्ने अञ्जना श्रेष्ठको व्यथा पनि उस्तै छ । बिजुली पसलमा काम गर्ने श्रीमानको पनि वेरोजगार बनेका छन् । साथमा सानो छोरा छन् । साहुले पसल नखुलेको बेला तलब दिन्छ भन्ने उनलाई आशा छैन । ‘पहिला दुई माना खाइन्थ्यो भने,अहिले एकमानाले काम चलाइएको छ’, उनले भनिन्,‘ राहत पाए भरथेग हुन्थ्यो ।’
कोरोनाको डर छैन, राहत माग्नेहरुको लर्को
लकडाउनको बेला । चैतको टन्टलापुर घाम । हावा चलेकै छैन । बाहिर मान्छे निस्कनै नमिल्ने । भीड गर्ने त कुरै भएन ! अर्को मान्छेसँग कम्तिमा १ मिटरको दूरी कायम गर्नुपर्ने । बृद्ध र बालबालिकालाई त झन जोगाउनै पर्ने बाध्यता । तर, मंगलबार पोखरा महानगरपालिका–५, मालेपाटनमा रहेको बाराही माध्यमिक विद्यालयमा यी कुनै पनि नियमहरु पालना भएनन् । लाग्यो, मास्क लगाएका र हातमा नागरिकता अनि फोटोकपी बोकेकाहरु हेर्दा लाग्थ्यो,‘ चुनाव हुँदैछ, देश लकडाउनमा छँदैछैन ।’ वडाध्यक्ष तथा महानगरका प्रवक्ता धनबहादुर नेपाली पटक–पटक दूरी कायम गर्न सम्झाउँदै थिए तर सबैलाई हतारो ! यस्सो टाढा भएजस्तो हुन्थे, फेरि लाइन ठेलमठेल ।
लाइन भोट हाल्नेको हैन कि राहत माग्नेहरुको थियो । पोखरा महागनरपालिकाले नगरभित्रका विपन्न र ज्यालादारीलाई राहतस्वरुप खाद्यान्न बाँड्ने घोषणासँगै उनीहरु नाम टिपाउन त्यहाँ पुगेका थिए । पोखरा महागनरपालिकाले सोमबार नगरभित्रका विपन्न र ज्यालादारीहरुलाई ‘राहत’ बितरणको घोषणा गरेको थियो । महानगरपालिकाको तर्फबाट राखिएको २ करोड तथा कर्मचारीबाट संकलन भएको ४८ लाख ५० हजार रुपैयाँको कोषबाट पाँचजनाको परिवारलाई २ हजार रुपैयाँ बराबरको राहत बाड्ने घोषणा गरेको हो ।
‘हामीले वडाका विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई फरक–फरक समयमा बोलाएका थियौँ तर उहाँहरु एकैपटकजस्तो आउँदा भीड भयो’, वडाध्यक्ष नेपालीले भने,‘ यो भीडभाड गर्ने समय हैन भन्ने हामीलाई थाहा छ तर भीड भइदियो । ’ सुरक्षाकर्मीहरुको सहयोगले राहत माग्न आएकाहरुलाई व्यवस्थापन गरिएको उनले बताए । पोखराको मुख्य बजार क्षेत्रमा मजदूरी गर्नेहरुमध्ये धेरैजसो मालेपाटन क्षेत्रमा बस्ने भएकाले पनि राहतको लागि नाम टिपाउनेको संख्या बढी भएको उनको जिकिर थियो । वडाध्यक्ष नेपालीले नाम दर्ता गराएकाहरुको बुधबारदेखिख छानबिन गरिने र वास्तविक समस्यामा परेकाहरुलाई राहत दिइने जनाए । राहतको लागि नाम टिपाउनेहरुसँग भाडामा बस्ने घरवालाको फोन नम्बर, सम्बन्धित व्यक्तिको नागरिकता र फोन नम्बर मात्रै मागिएको पनि उनले जानकारी दिए ।सरकारले नै भीडभाड नगर्नू भनेकोमा किन भीड त ? उनले भने,‘हामीले मास्क अनिवार्य गरेका छौँ, विद्यालय परिसर भित्र पस्दा अनिवार्य सेनेटाइजर प्रयोग पनि गराएका छौँ ।’राहतको लागि नाम टिपाउनेको भीडमा सोही ठाउँमा घर भएकाहरु, श्रीमान रोजगारीमा विदेश भएकाहरु पनि थिए ।‘कतिपयलाई त मैले नै फर्काइदिएँ’, वडा सदस्य अञ्जु केसीले भनिन्,‘ त्यत्तिकै पाइन्छ भनेपछि मान्छेहरुको भीड लागिहाल्ने ।’
वडा नम्बर ९ मा भने व्यवस्थित
पोखराको वडा नम्बर–५, मा राहतको लागि नाम टिपाउनेहरुको अव्यवस्थित भीड देखिए पनि सबैभन्दा बढी सुकुम्बासी बस्ने पोखरा–९,को वडा कार्यालय भने मंगलबार सुनसान थियो ।
‘हामीले त भीड गर्न हुँदैन भनेर राहत आवश्यक पर्नेहरुको नाम संकलनको जिम्मा टोल विकास संस्थालाई दिएका छौँ’, वडा नम्बर ९ की महिला वडा सदस्य तथा राहत बितरण कार्यक्रमकी संयोजक राममाया मानन्धरले भनिन्,‘ वडा नम्बर ९ मा १९ वटा टोल विकास संस्था छन्, तीमध्ये १३ वटाबाट विवरण आइसक्यो ।’ उनले आएका विवरणलाई सर्वदलीय बैठक बसेर छानबिन गरिने र आजै कमाएर आजै खानुपर्ने बाध्यता भएकाहरुलाई राहत बाँड्ने योजना रहेको सुनाइन् । वडा सदस्य नन्दराम गिरीले सुकुम्बासी बस्ती भए पनि तीमध्ये पनि राहत आवश्यक नपर्नेहरुलाई नदिइने र वास्तविक समस्यामा परेकाहरुलाई मात्रै राहत बाँड्ने योजना रहेको सुनाए । पोखराको वडा नम्बर १३ र वडा नम्बर ४ ले पनि घरघरबाटै नामावली संकलन गरेकाले भीडभाड भएन । दुबै वडाले नामावली संकलनपछि घरघरमै राहत पु¥याउने योजना बनाएका छन् । महानगरले तयार पारेको राहत प्याकेज २ हजार रुपैयाँ बराबरको हुनेछ । सो प्याकेजअन्तर्गत २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल , नुन र एक केजी गेडागुडी हुनेछ । यो पाँच जनाको परिवारलाई बनाइएको प्याकेज हो । छुट्टाछुट्टै बस्नेको हकमा भने उनीहरु पाँच जना मिलेर आउनुपर्ने नियम बनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->