`

सुनसान चैते दशैं (फोटो फिचर बागलुङ कालिका)


  • तारानाथ आचार्य
  • बुधबार, चैत्र १९, २०७६

बागलुङ १९ चैत– चैतशुक्ल अष्टमी अर्थात् चैते दशैं । बागलुङका शक्तिपीठहरु भरीभराउ हुने समय हो यो । बागलुङ कालिकामा चैत्राष्टमीको नवदुर्गा सुरु भएदेखि रामनवमीको दिनसम्म ठुलो भीड लाग्थ्यो । तर आज बागलुङ भवगवति कालिका मन्दिर परिसर सुनसान छ । जिल्लाको जैमिनी नगरपालिकामा रहेको थन्थापी माई, गल्कोट नगरपालिका–३ मा रहेको ऐतिहाँसिक गोलकोटकोत, बिहुँको राम मन्दिर, भीमापोखरा भगवती लगायतका मन्दिरहरुमा चैत्राष्टमीको समयमा भक्तजनहररुको ठुलो भीड लाग्थ्यो ।
बागलुङ कालिका मन्दिरमा हरेक बर्ष चैत्राष्टमीको बेला मेला हुन्थ्यो तर यो बर्ष भने कोरोना त्रासका कारण भएको बन्दाबस्था (लकडाउन) ले सबै शक्तिपिठहरु बन्द छन् । ‘बिहान यसो निस्केको मन्दिर घुमेर आउँ भनेर आएँ’ कालिका मन्दिर परीसरमा भेटिएका भवानी प्रसाद ढकालले भने ‘सुनसान छ, मान्छेले आँफैले बुझेछन्, कोही नआएका, बाँचे धर्म त फेरी गरौंला नि !’ कालिका मन्दिरमा चैत्राष्टमीको बेला सुनसान भएको सायदै पहिलो घटना हो यो ।
मन्दिरमा पुजा गर्ने पुजारीलाई पनि हाईसन्चो छ । भक्तजनका फुल, प्रसाद देवीको मुर्तिमा चडाएर फिर्तादिन भ्याई नभ्याई हुने समयमा उनी घाम तापेर मन्दिर परिसरमा बसिरहेका छन् । ‘दिनमा २०÷२२ जना आउनुहुन्छ, दवाई लाईवरी फुलपाती चडाएर फिर्ता दिन्छौं’ पुजारी गोपिचन्द्र पौडेलले ढोरपाटनसंग भने ‘कोही आउनुभएकै छैन्, सवैले स्वास्थ्यको ख्याल गर्नुभएछ ।’ हजारौंको संख्यामा पशुबली हुने मन्दिरमा बलि चडाउनेहरु पनि कोही नआएको पुजारी पौडेलले सुनाए । ‘एक दुई जना नजिकबाट कुखुरा बोकेर आउनुहुन्छ, हाम्रा स्वयंसेवकले आँफै काटेर चडाउन भन्ने गरेका छन्’ उनले भने, ‘हामीसँग उहाँ र उहाँहरुसँग हामी सबै जोगिनु पर्छ ।’
मन्दिरमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई समेत कुनै ढपडी छैन् । ‘आस्था बोकेर मन्दिर आउनेलाई नआउ भन्न मिलेर एकाद आउनेहरु आँफै दुरी कायम गरेर आएका छन्’ प्रहरी हवल्दार रमेश कुर्मीले भने, ‘केही भन्नै पर्नेगरी कोही आएकै छैन् ।’ सवैलाई ढुक्क छ ।
कालिका भगवति गुठी व्यवस्थापन समितिले यस अघिनै चैत्राष्टमी मेला स्थगन गरेको थियो । हरेकबर्ष मेला हुने मन्दिर छेउको कालिका बाटिकामा पनि चराचुरुङ्गी चरीरहेका छन् । मन्दिरमा नियमित चल्ने नित्य पुजा पुजारीले गरिरहेका छन् ।
चैते दशैं र बिजया दशमीको समयमा यस मन्दिरमा ४० देखि ५० हजार दर्शनार्थीले मन्दिरमा पुग्ने गरेको तथ्यांक छ । कालिका मन्दिर भन्दा बाहिरका मन्दिरहरुमा पनि आज कुनै भीड छैन् । एकाद भक्तजनहरु बाहेक थन्थापीमाईको मन्दिरमा पनि कोही नपुगेको त्यहाँका स्थानीयले बताए । अन्य शक्तिपिठहरु समेत सुनसान छ । गाउँघरमा समेत अरु बेलाको जस्तो चैते दशैंको रौनक छैन् । गाउँका कतिपय शक्तिपिठमा भने स्थानीयले आफ्नो धर्म अनुसारको कर्म गरिरहेका छन ।
यस्तो छ चैतेदशैं र बागलुङ कालिकाको महिमा
चैत्रशुक्ल प्रतिपदादेखि नवमीसम्मको अवधिलाई वैदिक वासन्ती नवरात्र पनि भन्ने गरिएको पाइन्छ । अष्टमी तिथिलाई वैदिक पर्व मानिन्छ । नवरात्रको अष्टमी तिथिलाई महाअष्टमीको रूपमा बिशेष महत्व दिइन्छ । चैत्रशुक्ल प्रतिपदाका दिन कालिका मन्दिरमा घटस्थापना गरी जमरा राखिन्छ । यसैदिन बागलुङ कालिका मन्दिर सहितका देवी मन्दिरहरू तथा हिन्दू धर्मावलम्बीहरूका घर घरमा शक्तिस्वरूपा देवीको बिशेष पूजा आराधना गरिन्छ । प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका मन्दिरमा बिहानको नित्यकर्मसंगै यस दिन बिशेष सरकारी पूजा गरिन्छ । देवीका ९ स्वरूपा मध्ये आज महागौरीको बिशेष पूजा आराधना हुन्छ । यो महत्वपूर्ण क्षणमा देवी पुराण, दुर्गा शप्तशती (चण्डी) लगायत देवीमाहत्म्य पाठ गर्ने परम्परा रहेको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्का बताउँछन् ।
परम्परा अनुसार बिहानको नित्यपूजा पछि १ बोका, १ कुखुरा १ हाँस बलि दिने चलन छ । दिउँसो मन्दिर भित्र रहेका ४ खड्ग तथा मन्दिर अगाडी रहेको मौलोलाई बिशेष पूजा गरिन्छ । ४ जना खड्का गुठीयार पुजारीले मन्दिरको मठका चारैदिशामा रहेका खड्गहरूलाइ पूजा गरेर बाहिरको मौलो ३ पटक परिक्रमा गराउँछन् । त्यसपछि मौलोमा राँगो वलि दिइन्छ । बर्षमा २ पटक बडादशैं तथा चैत दशैंको महाअष्टमीका दिनमात्र ति खड्गहरूलाइ बाहिर मौलो घुमाइन्छ । त्यसपछि मन्दिरको उत्तर तर्फ रहेको कौडेल मूर्ति रहेको स्थानमा १ सुंगुर बलि दिइन्छ । यसरी पूजा गर्ने खड्का दाजुभाइहरू बिहानै देखि चोखनिष्ठ रही,गण्डकी स्नान गरी रातो कपडामा रहन्छन ।
महाअष्टमीको राति कालरात्री बिशेष पूजा सहित १ बोका बलि दिइन्छ । साँझ देखीनै भक्तजनहरूले भजन किर्तन गरिरहेका हुन्छन् । महाअष्टमीको रातभर कालिका मन्दिर वरीपरी ध्यान, जप गरी सयौं भक्तजनहरू जाग्राम बस्ने गर्दछन् । यो समयमा गरिएको जप ध्यानले देवी खुशी भएको र आफ्नो मनोकामना पुरा भएको सुनाउने धेरै बुढापाकाहरुबाट सुन्न पाइन्छ ।
श्रीमहाकाली, महासरस्वती, महालक्ष्मीको नियमित पूजा हुने बागलुङ कालिका मन्दिरमा चैत्रशुक्ल अष्टमी अर्थात् चैते दशैंको बिशेष महत्व छ । बडादशैं तथा चैत दशैंको समयमा एउटै बिधि बिधान अनुसार नै यहाँ पूजा पाठ गरिन्छ । तुलनात्मक रुपमा बडादशैं भन्दा चैत दशैं को समयमा धेरै भक्तजनहरूको उपस्थिति मन्दिरमा हुने गरेको खड्का बताउँछन् । चैत्रशुक्ल अष्टमीका अवसरमा कालिका मन्दिरमा लाग्ने चैत दशैं मेला देश बिदेशमा निकै चर्चित छ । लाखौंको संख्यामा भक्तजनहरूको सहभागिता रहने यो ऐतिहासिक मेलाले आर्थिक, सामाजिक, सास्कृतिक तथा पर्यटनका हिसावले धेरै महत्व राख्छ ।
चैत्राष्टमी मेलामा देखिने स्थानीय उत्पादनका सामाग्रीहरू, तिनको खरिद बिक्री तथा प्रबर्धन, नयाँ पुराना लोक भाका सहित धार्मिक गतिविधिले मेलाको मौलिकता झल्काउँछ । मेलामा बालबालिकाहरु, किसोरकिसोरी सहित ज्येष्ठ श्रेष्ठ मानिसहरुको सहभागिता रहन्थ्यो ।
कालिका भगवती मन्दिरको स्थापनासंगै अस्थित्वमा आएको बिश्वास गरिने चैत्राष्टमी मेलामा तत्कालीन पर्वतका राजपरिवार को उपस्थिति रहने र उनिहरुले जनतासंग प्रत्यक्ष भेटघाट गर्ने, स्थानीय बजारको अवलोकन गर्ने तथा धार्मिक पाठ पूजामा सहभागिता जनाउने परम्परा रहेको पाइन्छ ।
भनिन्छ चैते दशैं बडादशैंको एउटा प्रतिबिम्ब चाड हो । पहिला पहिला मुख्य दशैं चैतमा थियो रे तर त्यो समयमा सुख्खा, खडेरी, बदली, भोजन तथा हिडडुलमा समस्या परेपछी दशैँलाई बर्षको मध्यमा सारिएको हो रे । धेरै मानिसहरु यसलाई सानों दशैं पनि भन्छन् । भारत, बंगलादेश तथा म्यानमारमा चैते नवरात्र भन्ने चलन पनि पाइन्छ ।
बिश्वभर देखिएको कोरोना भाइरस संक्रमणका कारण हाल कालिका मन्दिरमा पनि परम्परा अनुसारका पूजा पाठ लगायतका कार्यहरू मात्रै नियमित रुपमा भैरहेको अध्यक्ष खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology