`

लकडाउनको असर रंगशालामा


  • ढोरपाटन संबाददाता
  • बिहिबार, चैत्र २०, २०७६

कोरोना संन्त्रास र लकडाउनका कारण निर्माणाधीन पोखरा रंगशाला फुटबल मैदानको काम पछाडी धकेलिएको छ । लकडाउनले काम नहुँदा पूर्ण रुपमा सम्पन्न भएको रंगशालाको प्यारापिट तथा फिनिसिङको काम ६ महिना पछि धकेलिएको हो । कोरोना सन्त्रास र लकडाउनसँगै अहिले पोखरा र सिंगो देश ठप्प छ । पोखरामै भएका मजदूर पनि काममा जान पाएका छैनन् भने बाहिरबाट आएका मजदूरहरुमध्ये धेरैले आफ्नो बाटो तताएका छन् । यसको असर रंगशाला निर्माणमा परेको हो ।
१६ हजार दर्शक क्षमताको रंगशाला बनाउने निर्माण अनुसार काम अघि बढे पनि अन्तिम चरणमा पुग्दा राष्ट्रिय खेलकुद परिषद् ( राखेप) ले भने २० हजार दर्शक क्षमता प्यारापिट निर्माण गर्ने गरि थप सम्झौता समेत गरेको थियो । रंगशाला निर्माण गर्ने क्रममा दुइ पटक म्याद थप गरिएको हो ।चार महिनामै सक्ने गरी गत वर्षको फागुन अन्तिममा शिलान्यास गरिएको थियो । निर्माणाधीन रंगशालामा दुई ठूला प्रतियोगिता आयोजना गर्दा काम लम्बिएको थियो । काम पूरा गर्न समय थप्नुको विकल्प राष्ट्रिय खेलकुद परिषदसँग छैन् । समय थपिँदा आर्थिक भार समेत थपिने सम्भावना छ । निर्माणकर्ता कम्पनीबाट न्यूनतम् झण्डै ६ महिनाको म्याद थपिनुपर्ने आशय सार्वजनिक भइसकेको छ ।
‘हामीले योजना अनुसार काम गर्न पायौँ तर बीचमा खेल गतिबिधिले असर पु¥यायो, फेरि कोरोनाको कारण रोकिन पुग्यो’, निर्माणकर्ता भारतीय ग्रेट स्पोर्टस इन्फ्रा तथा एमए कन्ट्रक्सन ललितपुर(संयुक्त)का स्थानीय प्रोजेक्ट म्यानेजर दिपक बरालले भने, ‘अफिसियल भवन र बाँकी सिट जडान गर्न थप ६ महिना लाग्छ ।’ उनका अनुसार ग्राण्ड स्ट्याण्डका सामान फ्रान्समा रोकिएर बसेको छ । ल्याउने अवस्था छैन् । थप ३ हजार ५ सय सिट र सिटको लागि ग्राण्ड स्ट्याण्ड आउन बाँकी छ । १ अर्ब २८ करोड लागतमा सम्झौता गरिएपनि सिट क्षमता थपिदाँ १ अर्ब ५० करोडसम्म पुग्ने अनुमान छ । १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट लगभग तयारी भइसकेको छ । ३ हजार ५ सय सिट थप्दै २० हजार पु¥याउने योजना रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology