पोखरा, २१ चैत – विश्व कोरोनाको प्रभावमा परिरहँदा पर्यटक नै नभएको बताइएको पोखरा लेकसाइडबाट ४ दिनमा २ सय १० पर्यटक पोखराबाट बाहिरीएका छन् । कोरोनाको कारण अलपत्रमा परेका विभिन्न देशका पर्यटकलाई स्वदेश फर्काउनको लागि काठमाण्डौँ लगिएको हो । पोखरा लेकसाइडको विभिन्न होटलहरुमा बसोबास गरेका पर्यटकहरुलाई स्वदेश फर्काउनको लागि सुरक्षित साथ काठमाण्डौँ लगिएको हो ।
पोखराबाट बिहिवार मात्र १ सय १० पर्यटक बाहिरीए । अझै पनि पोखरामा पर्यटकहरु रहेको पाइन्छ । लकडाउनको स्थितिमा पनि पोखरा लेकसाइड आसपास पर्यटकहरु घुमिरहेको पाइन्छ । चैत्र १६ गते मात्र विभिन्न मुलुकका ६७ जना ब्रिटिस पर्यटक काठमाण्डौँ लगिएको थियो । चैत्र १९ गते नेरदरल्याण्डसका ३०, सुडानका २ र १ जर्मनी नागरिकलाई स्वदेश फर्काउनको लागि काठमाण्डौँ पठाइएको थियो ।
आफ्नो देश भन्दा नेपाल बढि सुरक्षित भएको भन्दै बस्ने र टे«किङ गएर पोखरामा बसेका पर्यटकहरु घर फर्कनलाई काठमाण्डौँ लगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष निरञ्जन पोखरेलले जानकारी दिए । “पोखरालाई सुरक्षित मानेर बसेका, टे«किङ गएर आएका र प्याराग्लाइडिङको लागि विभिन्न एनजिओमा काम गरेर बसेका अनि लामो छुट्टिमा बसेका पर्यटक माात्र पोखरामा थिए घर फर्कन सहजता हुने भएकाले राजधानी लगिएको हो” अध्यक्ष पोखरेलले भने । पोखरामा अझै पनि केहि पर्यटक बाँकी रहेको उनले जानकारी दिए । उनीहरुलाई अमेरिका, जापान, चिन, न्युजिल्याण्ड, फ्रन्स लगायतका दुतावासले स्वदेश फर्काउनको लागि लगेको उनले जानकारी दिए । “अझै पनि पोखरा र पोखरा आसपासको गाउँमा पर्यटक बसेका छन्, हामीले सम्पर्कमा ल्याएर काठमाण्डौँ पठाउँछौँ” पोखरेलले भने ।
कष्ट सहँदै घर फर्किेए मजदुरहरु
बागलुङ÷बागलुङमा खानेपानी, सडक, भवन, विद्युतलगायतका क्षेत्रमा काम गर्ने मजदुरहरु दोव्वर भाडा तिरेर घर फर्किएका छन् । निर्माण क्षेत्रमा काम गर्न आएका बाह्य जिल्लाका श्रमिक मजदुरले ठूलो सास्ती र सकस व्यहोर्नु परेको हो । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि काम गर्न बागलुङ आएका दाङ, रुकुम, रोल्पा लगायतका मजदुर समस्यामा परेका हुन् ।
नेपाल सरकारले गत चैत्र ११ गते कोरोनाको जोखिम रोक्न ७ दिनको लकडाउन घोषणापछि खुल्ने र काम निरन्तर चल्ने आशामा बसेका उनीहरु लकडाउन लम्बिएर अनिश्चित बनेपछि निराश बनेका छन् । कोरोनाले अनिश्चयको वातावरण बनेपछि स्थानीय सरकार र प्रशासनको अनुमति लिएर चर्को गाडी भाडा तिरेर घरतर्फ लागेका छन् । स्वास्थ्यचौकी भवन निर्माणमा काम गर्दै आएका दाङका १६ जना मजदुरको टोली ४५ हजार रुपैयाँमा गाडी रिजर्भ गरेर घरतर्फ लागेको मजदुर भरत यादवले बताए ।
काठेखोला गाउँपालिका ३ धम्जामा ‘एक घर, एक धारा’ निर्माण कार्यमा ७ महिनादेखि काम गर्दै आएका रोल्पाको १० जनाको टोली पनि बुधबार २० हजार रुपैयाँमा जीप रिजर्भ गरेर घरतर्फ हिँडेको रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ५ का ढोरबहादुर बुढाले बताए । ‘अनौठो रोगले देश ठप्प भएपछि हामी कामबिहीन भयौं, एक सातामा त खुल्ला कि भन्ने थियो,’ बुढाले थपे, ‘अनिश्चित जस्तो लाग्यो, त्यसैले दोब्बर रकम खर्चेर बागलुङको सीमानासम्म पुग्छौं ।’
त्यहाँबाट रुकुमहुँदै थप ७ घण्टाको पैदलयात्रापछि रोल्पाको थवाङ पुग्ने र त्यहाँ गाडीबाट थप ३ घण्टाको यात्रा गर्नुपर्ने अर्का मजदुर मंगलसिहं घर्ती सुनाए । यहीँ बसिराख्दा काम नहुने र उता घर परिवार पनि कोरोनाका कारणले आत्तिन थालेपछि देशभित्रै धेरै टाढा भएपनि घर हिँडेको घर्तिको भनाई छ ।
बागलुङमा कोरोनाको जोखिम बढेकाले अलपत्र मजदुरलाई घर फर्कन कुनै रोकतोक नगरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जानकारी दिए । ‘यदी घर जाने अवस्था छैनभने सम्बन्धित निर्माण व्यवसायी र स्थानीय सरकारलाई आवश्यक खाद्यान्न व्यवस्थापन गर्न भनेका छौं,’ प्रजिअ सैजुले भने, ‘तर घर जानेका लागि सवारी पाससहित सहज व्यवस्था र समन्वय गरिदिएका छौं ।’





