बागलुङ, २२ चैत– जिल्लाको ताराखोला गाउँपालिकाले लकडाउनका कारण प्रभावित भएका विपन्न तथा मजदुरहरुलाई राहत दिन सुरु गरेको छ । शनिवार वडा नं. १ अमरभूमिबाट राहत वितरणको काम थालिएको हो । गाउँपालिकाले स्थानीय उत्पादनै राहत सामग्री बनाएको छ । गाउँमै फलेको कोदो, मकै, फापर लगायतका खाद्यान्न गाउँमै खरिद गरेर वितरण थालिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताए । अमरभूमिका ३३ परिवारलाई प्रति परिवार मकै वा कोदो १० पाथी , दाल २ किलो, चिनी २ किलो, तेल १ लिटर र नुहाउने तथा हातधुने सावून वितरण गरिएको छ । गाउँपालिकाले काम गर्न बञ्चित भएर दैनिक गुजारा चलाउन कठिन भएका परिवारको लगत संकलन गरेको र अन्य वडामा पनि सोही परिमाणमा राहत प्रदान गर्ने घर्तीले जानकारी दिए । वडा तहमा लगत संकलन गरेर आवश्यक मजदुर तथा विपन्न परिवारलाई गाउँमै उत्पादित खाद्यान्न उपलव्ध गराउन ६० मुरी मकै र १५ मुरी कोदो गाउँपालिकाले जुटाएको छ । ताराखोलामा धान कम फल्ने भएकाले कोदो, मकै, फापर बितरण गरेको उनले बताए ।





