पोखरा, २३ चैत – गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शंकाष्पद तथा कोरोना संक्रमित पुष्टि भएकाहरुको लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गरेको छ । स्वास्थ्य निर्देशनलायले यसको लागि व्यक्तिगत सुरक्षा कवज ( पीपीई) लगाएका चालकसहित ६ वटा एम्बुलेन्स व्यवस्था गरेको जानकारी दिएको हो । गण्डकीका स्वास्थ्य शिक्षा निर्देशक नवराज शर्माका अनुसार पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी कास्की,आर्मी अस्पताल फूलबारी,हरियोखर्क अस्पताल नयाँगाउँ,बिजी अस्पताल माटेपानी,सिद्धार्थ क्लब बगालेटोल र फिस्टेल अस्पताल गैह्रापाटनका एम्बुलेन्सलाई पीपीईसहित परिचालन गर्ने निर्णय गरिएको हो ।
सुरक्षा सामग्रीको अभावमा एम्बुलेन्सहरुले शंकाष्पद बिरामी बोक्न हिच्किचाउने अवस्था आएपछि यो निर्णय गरिएको हो । यता, प्रदेश स्वास्थ्य निर्देशनालयले पोखराको बजारमा भेटिएका पीपीईहरुको गुणस्तरसमेत परीक्षण गरेको छ । डाक्टरद्धय भरतबहादुर खत्री र रोहिणी सिग्देलले ती पीपीई परीक्षण गरेका हुन् ।





