बागलुङ, २४ चैत – बेल्जियमा रहेकी कान्छी छोरीले हालै किनेको घर हेर्ने र बाँकी समय उतै घुम्ने चाहनाले एक महिना ‘घुम्ने समय मिलाएर’ दोस्रोपटक बेल्जियमको लुबेन शहर पुगेकी थिइन बागलुङ नगरपालिका-३ गौडाकोटकी ६५ बर्षिया वृद्धा आमा (महिला) । त्यहाँ पुगेको छोटो समयमा नै चारैतिर फैलिएको कोरोना त्रासले बेल्जियम बसाई भने छोट्याउनुपर्ने अवस्थामा पुगिन् उनी । गत फागुन १४ गते नेपालबाट हिँडेकी उनी १५ गते छोरीको घर बेल्जियमको लुबेन शहर पुगिन् । कान्छी छोरीले किनेको नयाँ घर हेर्ने ‘हुटहुटी’ नहुँदो त उनी त्यता जाने नै थिईनन् । पतिसंगै ३ बर्ष पहिला घुमेर आएकी थिइन् बेल्जियमको ‘लुबेन शहर’ उनी, अर्थात् छैठौं कोरोना संक्रमित वृद्धा महिला ।
‘एकपटक त लुबेन शहर घुमुरै आएको नि, ढोरपाटनसंग भनिन्, ‘यस्तो हुन लेखेको रहेछ र त छोरीको नयाँ घर हेर्ने हुटहुटीले फेरी त्यहाँ पुरायो मलाई ।’ आमाकी ‘प्यारी कान्छी छोरी’ लाई भने दोस्रो पटक आइपुगेकी आमालाई बाँकी शहर घुमाउने चाहना थियो । तर, त्यो छोरीको चाहना भने अधुरो नै रह्यो । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको त्रासले बेल्जियम नछुने त कुरै भएन्, त्यहाँ पनि यसको प्रभाव र असरका बारेमा प्रशस्तै कुराकानी र छलफल भए । उनी गएको एक हप्ता नहुँदै बसाईका बारेमा प्रश्न उठाउन थाले सबैले । कान्छी छोरीको बस बस भन्ने चाहना र यता (नेपालका परिवार) को फर्किहाल् भन्ने आग्रहको दोसाँधमा थिइन् । बल्ल बल्ल छोरीलाई मनाईन र एक महिने भिसालाई छाडेर चैत ४ गते घर फर्किइन् । घर फर्किदा उनी मात्रै एक्लै फर्किनन्, अहिले विश्वको साझा दुश्मन बनेको कोरोना भाइरस पनि घरसम्मै पछ्याउँदै आइपुग्यो । भन्छिन्, ‘यसरी छाड्दैन भन्ने थाहा पाएको भए त बरु उतै बस्थे नि !’
‘विदेशमा कोरोनाको जोखिम हुन्छ भनेर छिटो–छिटो घर फर्के । यहाँ पनि छाडेन’, कोरोना अनुभव सुनाउँदै उनले भनिन्, ‘मलाई त अझै पनि विश्वास नै लागेको छैन ।’ कोरोनाका बारेमा बाहिर भनिएजस्तो उनमा अहिले न खोकी छ, नत ज्वरो नै आएको छ । डाक्टरले भनेजस्तो केही पनि भएको छैन । ‘तर ¥यालको रिपोर्टलाई मान्नै प¥यो नि !’ धौलागिरी अञ्चल अस्पतालको आइसोलेशन कक्षमा उपचारत बृद्धाले ढोरपाटनलाई आफ्नो रिपोर्ट आउँदाको दिनको अनुभव सुनाईन्, ‘सुरुमा त विश्वास नै लागेन । तर सबैतिरबाट फोन आउन थालेपछि भने हो रैछ भने ।’ आफुसंगै बेल्जियमबाट आएकी युवतीको परिवारमा नेगेटिभ रिपोर्ट आएको सुनेकी उनले आफ्नो पनि त्यस्तै आउँछ भन्ने सोचेकी थिइन् ।
‘म भाग्दै गए, कोरोनाले पछ्याउदै आयो, भाग्दा भाग्दै खै कसरी समाएछ कुन्नी !’ आफुलाई विश्वासै नलागेको भन्दै सुनाइन्, ‘घुम्दाखेरी कोरोना बढि लाउँछ भन्थे त्यहीँ भएछ कि ?’ उनी आफुलाई केही नहुनेमा ढुक्क छिन् । बरु चिन्ता त अरु छिमेकी र परिवारलाई केही हुन्छ कि भन्नेमा छ । ‘मलाई त केही हुँदैन, छिमेकीलाई केही भयो भन्ने पिरले पोलिरहन्छ ।’ यहाँ रहेका जेठी छोरी, उनका परिवार र आफुसंगै बसेका साना बाबुनानीलाई केही नहोस् भनेर कामना गरिरहेकी छिन् उनले । आइसोलेशन कक्षमा सबै ठिकठाक भएको बताउँदै उनले भनिन्, ‘दोहोरी गीत हेर्ने मन थियो, त्यो हेर्न पाइदो रहेन्छ । ‘इन्द्रेणी’ हेर्न पाइएन, अरु त सबै ठिक छ ।’
विगत लामो समयदेखि दमको रोगी रहेकी उनले अहिले कोरोनाको भन्दा दमको औषधी गरिरहेकी छिन् । आइशोलेसन कक्षबाट ढुक्क रहन सबैलाई आग्रह गर्दै भनिन्, ‘मलाई कोरोनाले केही पनि हुँदैन । दमको औषधी भने दिनको दुईपटक खानुपर्दछ । औषधीको लागि मेसिन पनि प्रयोग गर्छु । दमले वरु मलाई दुःख दिन्छ । अरु त मेरो आत्मबल नै कडा छ ।’ उनी भन्छिन्, ‘आफन्त र परिवारका सदस्यहरुसंग फोन गरेर आरामसाथ दिन विताइरहेकी छु । घरको क्वारेन्टाईनमा बस्दाजस्तै छ । डाक्टरहरुले राम्रो सेवा गरेका छन् । मलाई सवै ठिक छ, तपाईहरु सवैले आफ्नो ख्याल गर्नुस ।’
वृद्धा महिला र युवतीको उपचार भइरहेको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डको प्रवेश गेट : ढोरपाटन
चैत २० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परिक्षणको पोजेटिभ रिपोर्ट आयो । त्यसले नै उनमा कोरोना संक्रमणको पुष्टि भयो । बेल्जियमबाट दोहाहुँदै कतार एयरवेजको क्यूआर ६५२ नम्बरको बिमानबाट उनी नेपाली आएकी हुन् । सोही विमानमा आएकी काठमाडौंकी किशोरीलाई संक्रमण पुष्टी भएपछि नेपाल आउनेको खोजी भएको थियो । त्यहीँ क्रममा जिज्लाको कुँडेलेकी १९ बर्षिया युवतीमा कोरोना संक्रमण भेटियो । तिनै युवतीसंग उनी बेल्जियबाट काठमाडौ र यति एयरलाईन्सको ६७९ नम्बरको जहाजबाट पोखराहुँदै ६३५३ नं. को स्कार्पियोबाट बागलुङसम्म आइपुगेकी थिईन् ।
विदेशबाट फर्किएको दिन उनी जेठी छोरीको बागलुङ बजारमा रहेको घरमा बसिन् । अर्काे दिन चैत ५ गते बल्ल आफ्नै घर गौडाकोट पुगिन् । घरमा उनलाई भेट्न धेरै इष्टमित्र, छिमेकी र बालबच्चाहरु सबै पुगे । त्यहाँ पुग्ने सबैलाई उनले बेल्जियमको कोसेली चक्लेट पनि बाँडिन् ।
कुनै लक्षण नदेखिएपनि स्थानीय र स्वास्थ्यकर्मीको दबावपछि थ्रेट स्वाब परिक्षणका लागि काठमाडौं पठाइएको थियो । रिपोर्ट पोजेटिभ आयो । आमालाई कोरोना संक्रमण भएको खबर आएपछि एम्बुलेन्स चालक भागेकोदेखि छिमेकी डराएको देख्दा उनका कान्छा छोरालाई दिक्क लागेको छ । यो त एउटा रोग न हो, कान्छा छोराले ढोरपाटनसंग भने, ‘यस्तो बेलामा सबैको साथ, सहयोग र हौसला चाहिँने रै’छ । तर देखेर भाग्ने र घृणा गर्ने धेरै हुदाँरहेछन् ।’ परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएपछि अहिले सबै खुशी छन् ।
जनस्वास्थ्यबाट तपाईको आमालाई कोरोना संक्रमण देखियो, अस्पताल ल्याउनुपर्ने भयो भनेर पहिलो फोन आउँदा आफ्नो बोली नै अवरुद्ध भएको उनी सम्झन्छन् । ‘साहस गरेर आमा हजुरलाई कोरोना देखियो रे भने’, उनले भने, ‘आमा त ढुक्क पो हुनुभयो !’ आमाले आफुलाई रोग लागेकोभन्दा पनि हामी, छिमेकी, बाबुनानी र हजुरबालाई स¥यो कि भनेर पो चिन्ता गर्नुभयो । उनले अहिले डराउनेभन्दा पनि सचेतना अपनाउनुपर्नेमा जोड दिए । आमा केही दिनमा सबै ठिक भएर घर फर्किनेमा सबै परिवार ढुक्क छन् ।





