काठमाडौं, २ बैशाख – नेपालमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सोमबार काठमाण्डौको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा भेटिएका शंकाष्सपद तीनजनामध्ये दुईजनामा संक्रमणको पुष्टि भएको हो ।
बेलायतबाट फर्किएका एकै परिवारका तिन जनामा सोमबार र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको पिसिआर विधिबाट पुन परिक्षण गरिएको थियो ।
पाटन अस्पतालका निर्देशक विष्णु शर्माले र्यापिड टेस्टमा पोजेटिभ देखिएका तीनजना मध्ये दुईजनामा संक्रमण भएको देखिएको बताए ।
बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो । उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८वर्षीया छोरा र ५६ वर्षीया बुहारी रहेका छन्। उनीहरुमध्ये सासु बुहारीको रिपोट पोजेटिभ आएको हो । सोमबार संक्रमणको आशंका गरिएका तिनै जना अहिले पाटन अस्पतालको आइसोलेसनमा छन् ।
थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको सङ्ख्या १६ पुगेको छ । ८ जना संक्रमित भेटिएपछि एकहप्तासम्म नेपालमा कुनै पनि नयाँ संक्रमित नभेटिएपनि आईतबार र सोमबार मात्रै ५ जना नयाँ संक्रमित भेटिएका थिए ।
नेपालमा संक्रमित भेटिएका एकजना उपचारपछि निको भएर घर फर्किएका छन भने अन्य १५ जना अहिले उपचारत छन । संक्रमितमध्ये दुईजना काठमाण्डौ, दुईजना ललितपुर, ५ जना धनगढी, एकजना रौतहट, दुईजना बाग्लुङ र तीनजना बिरगंजस्थित नारायणी अञ्चल अस्पतालमा छन ।




