आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

शान्ति समितिको भवन बन्यो सडक मजदुरको छहारी

शान्ति समितिको भवन बन्यो सडक मजदुरको छहारी

उद्योग बाणिज्य संघ, सुरक्षा निकाय र नागरिक अगुवाको पहलमा शान्ति समितिको भवनमा सडक मजदुरका लागि आश्रय स्थलको व्यवस्था ।


  • तारानाथ आचार्य
  • बैशाख ३ २०७७, बुधबार

बागलुङ, ३ बैशाख– सडकमा काम गर्ने र सडकमै रात गुजार्ने मजदुरका लागि बागलुङमा आश्रय स्थलको व्यवस्था गरिएको छ । सरकारले दिएको राहत खाद्यान्न पकाएर खाने ठाउँसमेत नभएकाका लागि शान्ति समितिको भवनलाई सरसफाई गरेर आश्रय स्थल बनाईएको हो ।
जिल्ला प्रहरी कार्यालयको पहलमा उद्योग बाणिज्य संघले भवनको सरसफाई गरेर आश्रय स्थल बनाएको छ । उक्त भवनमा १० वटा बिस्तारसहित पानी, बिजुली लगायतको प्रबन्ध गरिएको उद्योग बाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेलले बताए । मंगलबार निर्माण गरिएको आश्रय स्थलमा बुधबारसम्म ६ जनालाई राखिएको छ । प्रहरीले सडकमा रहेकाहरुलाई उठाएर आश्रय स्थल पु¥याएको हो ।
लकडाउनसँगै बागलुङमा चोरीका घटना बढ्दै जान थालेपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार, बागलुङ बजारका ठुला स्टोरहरुमा लोड अनलोडको काम गरेर खानेहरुको बासस्थान नभएको पाईएको थियो । काम सकेर पसलमा किनेर खाने र सडकमै सुत्नेहरु चोरीमा संलग्न रहेको भेटिएपछि उनीहरुको उचित व्यवस्थापन थालिएको प्रहरी उपरीक्षक नबराज भट्टले बताए । ‘एक जना मजदुरनै यस्ता स–साना चोरीका घटनामा संलग्न भएको पायौं, त्यसपछि बिधिको खोजी भएको हो’ भट्टले भने ‘नत उनीहरुलाई कुनै कारवाहीको व्यवस्था छ नत कारागारमा नै राखेर मुद्धा चलाउन सक्ने अवस्था ।’
उनीहरुले काम नचलेर खान नपाएकै कारण चोरीका घटनामा संलग्न भएको प्रहरीको निस्कर्ष छ । ‘बजारछेउका गाउँमा गएर बाख्रा चोर्ने, पसलमा छिरेर दालमोठ, चाउचाउ जस्ता बस्तुहरु चोरी गरेको पाईयो’ भट्टले भने ‘बिनाश गर्नेभन्दा पनि छाक टार्ने हिसाबको चोरी देखिएकाले विकल्प खोजिएको हो ।’ बागलुङ नगरपालिकाले दिएको राहतको सामग्री समेत बिक्री गरेर मदिरा सेवन गर्नेहरु भेटेपछि आश्रय स्थल निर्माण गरेर सुरक्षित राख्ने योजनामा प्रहरी लागेको हो ।
उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय र सरोकारवाला तथा नागरिक समाजका प्रतिनिधिबीच भएको छलफलमा उपयुक्त स्थान शान्ति समितिको भवन भएको निकर्षसँगै संघले पुर्वाधार तयार गर्ने जिम्मेवारी लिएको थियो । उनीहरुसँगै गाँसबास नभएका जो कोहीलाई आश्रय स्थलमा राख्न सकिने भट्टले बताए । उनीहरुलाई खानाको व्यवस्था बुधबारसम्म प्रहरी आँफैले गरेको र बिहिबारदेखि धार्मिक संस्था स्कोनले गर्ने प्रतिवद्धता जनाएको नागरिक समाजका अगुवा राम शर्माले बताए ।
आश्रय स्थलमा रहेका श्रमिकको सुरक्षाका लागि एक जना प्रहरी जवान खटाउने कार्यालयले जनाएको छ । बाहिरी पहराको जिम्मा भने सशस्त्र प्रहरीले लिएको छ । ‘सडकमा रहेकालाई सुरक्षित राख्दा रोग संक्रमणको त्रास पनि नहुने र अफ्ठेरो परिस्थितीमा उनीहरुले आश्रय पाउने’ महासचिव कँडेलले भने ‘प्रहरीले शंका गरेको जस्तो चोरीमा संलग्न भएको भए पनि कमी आउने भएकाले हामी सहयोगका लागि तयार भएका हौं ।’ उनले अश्रय स्थलमा रहने जो कोहीलाई पनि अत्यावश्यक बस्तु तथा सेवाको कमी हुन नदिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->