बागलुङ, ४ बैशाख– लडकडाउनको समयमा घरबाहिर निस्किन नपाएका दिर्घरोगी तथा नियमित औषधि सेवन गरिरहेकाहरुका लागि बरेङ गाउँपालिकाले घर–घरमै निशुल्क औषधि पु-याउने भएको छ । कोरोना त्रासमा रहेका गाउँपालिकाबासीलाई सहजताका लागि घरदैलोमै औषधि पु-याउने व्यवस्था गरिएको हो । दिर्घरोगी तथा नियमित औषधि सेवन गर्नुपर्नेलाई वडा कार्यालय तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
औषधि उपचार सम्बन्धि कागजातसहित सम्पर्कमा आउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । ‘औषधिको विवरण, अस्पतालले चेकजाँच गर्दाका कागजातहरु उपलव्ध गराउन सार्वजनिक सूचना गरेका छौं’ थापाले भने ‘बैशाख ७ गतेदेखि हाम्रा स्वयंसेवकहरुले घरघरमै औषधि पु-याउँछन् ।’ लकडाउनको समायवधी सम्मको लागि पुग्नेगरी गाउँपालिकाले औषधि उपलव्ध गराउने थापाले बताए । स्वास्थ्य संस्थामा जाँदा भिडभाड हुने र गाउँमा सबै खालका औषधि नपाउने समस्या समेत रहेको भन्दै आफ्ना नागरिकका लागि गाउँपालिकाले निशुल्क औषधि बाँड्न थालेको हो ।
त्यस्तै, ताराखोला गाउँपालिकाले पनि पालिका भित्र रहेका दीर्घ रोगीहरुलाई निशुल्क आषैधी वितरण गर्ने भएको छ । स्वास्थ्य संयोजक उदित कुमार थापाले निकालेको सूचनामा मुटु रोग, उच्च रक्तचाप, सुगर आदी रोगका बिरामीहरुलाई निशुल्क औषधी वितरण गरिने उल्लेख गरिएको छ । त्यस्ता रोगीहरुले आफ्ना (स्वास्थ्य सम्बन्धी)कागाजात स्वास्थ्य संस्थामा बुझाउन आग्रह गरिएको छ । पालिकाले निशुल्क औषधी वितरण गर्ने भएपछि दीर्घ रोगीहरुले आफुहरुलाई सितलता मिलेको बताएका छन् ।





