आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आईसीयूका सामान खरिद गर्न दुई कम्पनीसंग सम्झौता

आईसीयूका सामान खरिद गर्न दुई कम्पनीसंग सम्झौता

पोखराको प्रतिक सर्जिकल डाईनोष्टिक होम र काठमाण्डौको सनराईज सर्जिकल होमलाई सामग्री उपलव्ध गराउने जिम्मेवारी ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७७, बिहिबार

बागलुङ, ४ बैशाख– कोरोनाका बिरामीहरुको उपचार गरिरहेको धौलागिरी अञ्चल अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) निर्माणका लागि सामग्री खरिदको प्रकृया अघि बढेको छ । आईसीयू निर्माणका लागि आवश्यक सामग्री खरिदका लागि गरिएको बोलपत्र आव्हानमा छनौट भएका कम्पनीहरुसँग सामान खरिद सम्झौता भएसँगै खरिद प्रकृया अघि बढेको हो ।
अस्पतालले सम्झौता भएको मितिले बढिमा तीन दिनमा सामग्री उपलव्ध गराउनेगरी काठमाण्डौ र पोखराका दुई कम्पनीसँग खरिद सम्झौता गरेको छ । पोखराको प्रतिक सर्जिकल डाईनोष्टिक होम र काठमाण्डौको सनराईज सर्जिकल होमले सामग्री उपलव्ध गराउने जिम्मेबारी पाएका छन् । ‘दुईवटा कम्पनीको बोलपत्र परेको थियो, दुवैले जिम्मेबारी पाएका छन्’ अस्पतालका लेखा अधिकृत झलक आचार्यले भने ‘सामानको मुल्य र सारभुत लागेका फरक–फरक सामानहरु लिनेगरी दुवै कम्पनीसँग सम्झौता भएको छ ।’
अस्पतालले आईसीयू निर्माणका लागि १ थान भेण्टिलेटर, ३ वटा बेड, १ थान अल्ट्रासाउण्ड, १ थान इसिजी, ८ थान सिरिञ्जपम्प, १ थान इनफ्युज पम्प र अन्य केही समाग्रीका लागि बोलपत्र स्वीकृत गरेको हो । ‘उहाँहरुसँग सामान स्टोर रहेकाले बोलपत्र हाल्न आउनुभएको हो, सम्झौताको मितिले तीन दिनभित्र सामान आउँछ’ व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भने ‘अरु पूर्वाधार र जडानको काम हाम्रै प्राबिधिकले गर्न सक्नुहुन्छ, नसके प्रदेशको प्रयोगशालाबाट सहयोग लिन्छौं ।’
एक साताभित्रै आईसियु तयार हुने उनले दाबी गरे । तीन बेडको आईसियू निर्माण गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयले एक करोड रुपैयाँ बजेट उपलव्ध गराएको थियो । गण्डकी प्रदेश सरकारले समेत अरु पूर्वाधारमा सघाउने बचन दिएको शर्माले बताए । आईसियू निर्माणपछि कोरोनाका बिरामी र अन्य बिरामीको उपचारमा समेत सहजता आउने छ । स्मरण रहोस् ः बागलुङमा कोरोनाको संक्रमण देखिएका दुई जनाको यहि अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->