बागलुङ, ४ बैशाख– धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचार गराईरहेकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिया बृद्धाको तेस्रो पटक गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा बिहिबार गरिएको उनको थ्रेट स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
उनी नेपालकै छैटौं कोरोना संक्रमित हुन् । सोही अस्पतालको आईसोलेसनमा उपचाररत १९ बर्षिय युवतीको भने चौथो पटक गरिएको परीक्षणमा पनि कोरोनाको संक्रमण पोजेटिभनै देखिएको गुरौले बताए । दुवै जनाको बुधबार स्वाव संकलन गरेर बिहिबार परीक्षणका लागि पठाईएको थियो ।
नेगेटिभ रिपोर्ट आएकी बृद्धाको २४ घण्टाभित्र पुनःथ्रेट स्वाव संकलन गरेर परीक्षणका लागि पठाईने छ । चौथो पटकमा पनि उनको नेगेटिभ रिपोर्ट आएमा अस्पतालबाट डिस्चार्जको प्रकृया सुरु हुने अस्पतालका निमित्त मेसु डा. शैलेन्द्र व. पोखरेलले बताए । उनीहरु दुवै जना गत चैत ४ गते बेल्जियमबाट कतारहुँदै नेपाल आएका थिए । दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।
यसैगरी, पाँचौ संक्रमित बागलुङ नगरपालिका–४ कुँडुलेकी युवतीको सम्पर्कमा आएका २१ जनाको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको डा. पोखरेलले जानकारी दिए ।





