बागलुङ, ७ बैशाख– कोरोना भाइरसका कारण माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि त्यसको तयारीमा रहेका बिद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायीक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ । लकडाउन खुल्ने बित्तिकै परीक्षाको तालिका सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारीलाई मध्यनजर गर्दै गाउँपालिकाले रेडियोमार्फत बिद्यार्थीलाई ट्युसन कक्षा सञ्चालन गर्न थालेको हो ।
तयारीमा रहेका बिद्यार्थीले लामो समय बिदामा बस्दा सिकेका कुरासमेत बिर्सिने र परीक्षामा समस्या आउने भएकाले रेडियोमार्फत पुर्नताजगी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । आईतबारदेखि बरेङमा रहेको सामुदायीक रेडियो बिहानीबाट बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म चार बिषयको कक्षा सञ्चालन हुनेछन् । कक्षा सञ्चालनका लागि बिषय शिक्षकले स्टुडियोबाट बिद्यार्थीलाई जानकारीहरु प्रदान गर्ने र बिद्यार्थीले सामाजिक सञ्जाल वा टेलिफोनको माध्यामबाट जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाईएको थापाले बताए ।
‘एसईईलाई लक्षित कक्षा सञ्चालन हुने छ, परीक्षाको तयारी गराउँदा जसरी बिद्यालयमा शिक्षकहरुले पढाउँथे उसैगरी रेडियोबाट पढाई हुन्छ’ थापाले भने ‘यसले बिद्यार्थीलाई धेरै सहज बनाउने छ, नसिकेका कुरा सिक्ने र बिर्सेका कुरा सम्झने अवसर हुनेछ ।’ अंग्रेजी, गणित, बिज्ञान र अतिरिक्त गणित बिषयको कक्षा रेडियोबाट सञ्चालन हुने छ । ‘हामीले गाउँपालिकाभित्र रहनुभएका बिषय शिक्षकलाई अनुरोध गरेका छौं’ थापाले भने ‘उहाँहरुलाई गाउँपालिकाले पारिश्रमिक उपलव्ध गराउने छ ।’
रेडियोमार्फत कक्षा सञ्चालन गर्ने शिक्षकहरुका लागि गाउँपालिकाले प्रतिकक्षा ५ सय रुपैयाँ पारिश्रमिक दिने बिधि तयार गरेको छ । बिद्यालय खोल्न वा ट्युसन, कोचिङ कक्षाहरु सञ्चालन गर्न सम्भव नरहेकाले रेडियोको बिकल्प खोजिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
रेडियोले प्रसारण गर्ने कार्यक्रमबाट जिल्लाको जैमिनी नगरपालिका, गल्कोट नगरपालिका र गुल्मीको शान्तिपुर क्षेत्रका अधिकांश बिद्यार्थीले लाभ लिन सक्छन् । परीक्षा तयारी कक्षानै सञ्चालन हुने भएकाले बिद्यार्थीका लागि उपयोगी हुने गाउँपालिकाको दाबी छ । गाउँपालिकाले बिद्यार्थीलाई लकडाउनको पूर्ण पालना गर्दै प्रबिधिको प्रयोगमार्फत एसईईको तयारीलाई जारी राख्न अनुरोध समेत गरेको छ ।





