बिराटनगर, ९ बैशाख – उदयपुर जिल्लामा २४ जना कोरोना भाइरस संक्रमित भेटिएपछि जिल्ला नै सिल गरिएको छ । प्रदेश १ सरकारले उदयपुर जिल्लानै सिल गरेर लकडाउनलाई अझै कडाई गर्दै निगरानी बढाउने निर्णय गरेको छ। प्रदेश सरकारको मंगलवार बसेको बैठकले सो निर्णय गरेको हो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला नै मंगलबार साँझबाट सिल गरेर उच्च निगरानी बढाएको जानकारी दिए। ‘भुल्के यस अघिनै सिल गरिएको थियो, मंगलबारबाट उदयपुरनै सिल गरिएको छ,’ मन्त्री घिमिरेले भने, ‘अब उच्च निगरानी गर्दै सबैको परीक्षण गछौँ।’
संक्रमित सबै विराटनगरमा
मंगलबार कोरोना पुष्टि भएका सबै ११ जनालाई मंगलबार साँझनै विराटनगरस्थित कोरोना विषेश अस्पतालमा ल्याई भर्ना गरिएको छ। सबैको स्वास्थ्य अवस्था समान्य रहेको उपचारमा खटिएका चिकित्सकले बताएका छन्। यस अघि १३ जना राखिएको कोशी अस्पतालको शाखा कोरोना विषेश अस्पतालमानै मंगलबार ल्याएकालाई पनि राखिएको हो।




