काठमाडौं, १२ बैशाख – अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । कांग्रेस लगायतका विपक्षी दलहहरुले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद् सम्बन्धि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई दबाब दिएका थिए। ओली र देउवाबीच छुट्टै भेटवार्ता भएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सो छलफलमा सहभागी भएका छन् ।
ओली र देउवाबीच सुरु भएको छलफलमा अहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। नेताहरुबीच अध्यादेश तथा कोभिड १९ रोकथामका विषयमा सरकारले चालेका कदमबारे छलफल भएको उनले बताए। सरकारको सिफारिसमा आजै राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरिसकेकी छन्।
छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । ‘एक घण्टा द्विपक्षीय छलफल भएपछि अहिले अर्का अध्यक्ष प्रचण्डसहित त्रिपक्षीय छलफल भइरहेको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने । कोरोना भाइरसको संक्रमणविरुद्ध सबै मिलेर अगाडि बढ्नेबारे छलफल भएको थापाले बताए । सुरुमा ओली र देउवाबीच तथा केहीबेरपछि ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।





