काठमाडौं, १३ बैशाख – नेपालमा कोरोना भाइरस (कोभिड–१९) जित्नेको संख्या १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४९ हजार तीन सय ३६ नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म १२ जनाले कोरोनालाई जितेका छन् । ८१ वर्षीया वृद्धदेखि १९ वर्षीय युवतीसम्मले कोरोना जितेका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार चितवनमा उपचार गराइरहेका २७ वर्षीय युवाको डिस्चार्ज हुँदैछन् । उनले आठ दिनमै कोरोनालाई जितेका हुन् । अन्य ११ जनाको यसअघि नै डिस्चार्ज भइसकेको छ ।
मन्त्रालयका अनुसार अहिले ३७ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । प्रदेश १ को राजधानी विराटनगर स्थित कोशी अस्पतालमा ३० जनाको उपचार भइराखेको छ । अन्य संक्रमितमध्ये पाँच जनाको वीरगञ्जमा उपचार भइराखेको छ भने धनगढी र भरतपुरमा एकएक जनाको उपचार चलिरहेको छ। प्रवक्ता देवकोटाका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
अहिलेसम्म आरडीटी विधिबाट ३९ हजार ६ सय ७० र पीसीआर विधिबाट ९ हजार ६ सय ६६ जनाको गरेर जम्मा ४९ हजार तीन सय ३६ जनामा कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १९ सय ४५ जनाको नमुना परीक्षण गर्दै सबै रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म क्वारेन्टाइनमा १४ हजार सात सय ३१ जना छन् जसमध्ये सबैभन्दा बढी सात हजार बढी सुदूरपश्चिममा छन् । उपत्यकामा ३ र बाहिर ८४ गरेर देशभर ८७ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।
शुक्रबार मात्र झापा दमकका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । आरडीटी विधिमा परिवारका चार जनामा पोजिटिभ देखिए पनि पीसीआर विधिबाट एकजनामा मात्र पोजिटिभ देखिएको हो । संक्रमित पुरुषका छोरा चैत ४ गते विदेशबाट आएको खुलेको छ ।




