बागलुङ, १५ बैशाख– लकडाउनका कारण बन्द रहेका बैंकहरुबाट सामाजिक सुरक्षा भत्ता लिन कठिन भएपछि बागलुङ नगरपालिका–१ वडा कार्यालय रामरेखाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । वडा कार्यालयमा तीनओटा काउन्टर बनाएर प्रभू बैंकका कर्मचारीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य चलिरहेको वडा अध्यक्ष दुर्गा बहादुर बोहराले जानकारी दिए ।
नगरपालिकाले गत फागुनमै बैंकलाई सुरक्षा भत्ताबापतको रकम निकासा पठाएको थियो । व्यक्तिको खातामा जम्मा भैसकेपछि लकडाउन सुरु भएका कारण यहाँका लक्षित बर्गले सामाजिक सुरक्षा भत्ता पाउन सकेका थिएनन् । जेष्ठ नागरिक, अपांग र एक महिला समेत गरि यस वडामा ३ सय १० जानले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । ती मध्ये ४७ जनाले पहिलनै बैंकमार्फत लिईसकेको र बाँकी सबैलाई वडा कार्यालयबाट भत्ता वितरण गरिने वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । यो वडामा मात्रै झण्डै १८ लाख रुपैयाँ भत्ता वितरण हुन्छ । बैंकले वडासँगको सहकार्यमा सामाजिक दुरी कायम गरेर वडा कार्यालय मार्फत खातामा रहेको रकमको भुक्तानी गरिरहेको छ ।





