बागलुङ, १५ बैशाख– बन्दाबन्दीको समयमा बिनाकाम बजारमा डुलिरहेका ७० जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । सोमबार बागलुङ बजारका बिभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बन्दाबन्दीको समय थप भएसँगै प्रहरीले यसको कार्यान्वयनमा थप कडाई गर्न थालेको छ ।
समुह बनाएर सडकमा निस्किएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । नियन्त्रणमा लिईएकाहरुलाई धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा दुई घण्टा राखेर आवश्यक कारवाहीपछि छोडिएको प्रहरी प्रमुख नवराज भट्टले बताए । उनीहरुलाई कोरोना सम्बन्धि सचेतना दिएर अर्कोपटक पनि पक्राउ परे सरुवा रोग ऐन २०२० ले गरेको व्यवस्था अनुसारको कारवाही गर्ने चेतावनीसहित छोडिएको उनले बताए । बिना काममा घर बाहिर निस्केर कोरोना संक्रमणको त्रास नबढाउन प्रहरीले अनुरोध गर्दै आएको छ । लकडाउन थप प्रभावकारी र उपयोगी बनाउनका लागि प्रहरीको समुह नै बजारमा परिचालन गरिएको छ ।





