शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनासंग भिड्दै काम गरेका बागलुङका तीन नर्सको अनुभव

कोरोनासंग भिड्दै काम गरेका बागलुङका तीन नर्सको अनुभव

भन्छन् : 'महामारीलाई अवसरको रुपमा लिएर चूनौतीका सामना गर्यौ, आँफू पनि बाँचेर मात्र काम गर्नुपर्छ भन्ने सिक्न पनि पायौं।'


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०७७, बुधबार

बागलुङ, १७ बैशाख – अस्पतालमा बिरामी आयो भने पहिलोपटक स्याहार गर्ने नर्सले हो । कोरोना भाइरस संक्रमणको समय छ । बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा दुई जना संक्रमित उपचारपछि निको भएर घर फर्के । एक महिनासम्म संक्रमित अस्पतालमा बस्दा अधिकांस मानिस अस्पतालको बाटो पनि हिडेनन् । त्यहीँ चुनौतीको अबस्थामा अस्पतालमा काम गर्ने डाक्टर र नर्सको भूमिका अतुलनीय रहेको छ । डाक्टरले रिपोर्ट हेरेर पनि पुग्ला, तर नर्सले नियमित ज्वरो, प्रेसर र अन्य अबस्था जाँच गर्नुपर्छ । औषधि चलाउनुपर्छ । त्यो चुनौती व्यवहोरेका र आइसोलेसनको फ्रन्टलाइनमा बसेर काम गरेका अनुभव कस्तो रह्यो त नर्सको अनुभव ? दुई जना संक्रमित विरामीलाई निको बनाएर घर पठाएका धौलागिरी अञ्चल अस्पतालका तीन नर्सको अनुभव यस्तो छ ।
महामारीलाई अवसरको रुपमा लिएर चूनौतीका सामना गर्यौ
शान्ति खड्का पौडेल
(नर्सिङ इन्चार्ज, धौलागिरी अञ्चल अस्पताल)
नर्स भनेको बिरामीलाई सेवा गर्ने पद हो । अस्पतालमा हरेक दिन आउने बिरामीको उपचार, डाक्टरले दिएको सल्लाहअनुसार औषधि खुवाउने र अन्य पालना गर्नुपर्ने विधिबारे जानकारी दिने हो ।
शान्ति खड्का पौडेल नर्स, धौलागिरी अस्पतालको नर्सहरुको इन्चार्ज र मानवीय सेवामा खटिएकी स्वास्थ्यकर्मी पनि हुन् । सामान्य अबस्थामा नियमित खटिनुपर्ने जिम्माबाहेक गएको एक महिना खड्काले कोरोना संक्रमणको समस्यासहित दोब्बर जिम्मा लिएर काम गरिन् । संक्रमितलाई पहिलोपटक नजिकमा गएर सेवा गर्ने जिम्मा नर्सलाई छ । खड्काले बिहान, दिउँसो, बेलुकी र रातीको समयमा बिरामीको रक्तचाप, ज्वरो, दमसहित अन्य समस्या बुझ्ने, औषधि खुवाउने लगायतको काम गर्न खटिइन् । जसले सेवासँगै बिरामीको अबस्थाबारे रिपोटिङको काम गरिन् । दैनिक ८० जना बिरामीको उपचार र सेवा पनि रोकिएन । सामान्य दिनमा यहाँ ३ सय बिरामीसम्म आउने गर्थे । कोरोना संक्रमित उपचारमा भएकोले त्यो संख्या घट्यो । कोरोना बिरामी निको भएर घर फर्केपछि फेरी यो क्रम बढेको छ ।
जागिरे जीवनको २२ बर्षमा संसारभरको समस्या भएको कोरोना भाइरस मात्र पाएको उनले बताईन् । तर भूकम्प, झडापखालाको प्रकोप, मौषमी फ्लु जस्ता महामारीमा पनि उनले काम गरेको अनुभव संगालेकी छिन् । ‘ती महामारीमा स्वास्थ्यकर्मी जोखिममा थोरै पर्थे, अहिले धेरै पर्छन्’ उनले भनिन्, ‘सेकेण्ड सेकेण्डमा संचारमाध्यम र जोकसैले गर्ने निगरानी पनि चुनौतीमा पर्छन् ।’ अन्य महामारीमा बिरामी बचाउने चुनौती हुने गरेकोमा यो महामारीमा आ“फै जोगिने अबस्था आएको उनको भनाई छ । ज्यानै बाजी लगाएर बिरामीको उपचारमा खटिए पनि नर्स र डाक्टरले वास्ता गरेनन् भन्ने हल्ला पनि सामाजिक संजालमा फैलिएको उनले बताइन् । त्यसका लागि मुख्यमन्त्री समेत अनुगमनमा आए । मुख्यमन्त्रीले अनुगमनबाट सेवा प्रवाह राम्रो भएको भेटेको बताए ।
लामो समय पोखरामा बसेर काम गरेकी खड्का २ बर्षदेखि बागलुङमा छिन् । यो समयमा अस्पताल व्यवस्थापन समिति र मेडिकल सुपरिटेण्डेन्टको नेतृत्वले धेरै सहयोग गरेको उनले बताइन् । ४० बर्षिय खड्काका श्रीमान सुबास पौडेल नेपाल टेलिकम पोखरामा कार्यरत छन् । पुख्र्याैली बागलुङ भएपनि छोरी स्वस्तीका र छोरा सृजनस“गै पोखरा बस्छन् । चैत लागेपछि उनले परिवार भेट्न पाएकी छैनन् । दिनदिनै छोराछोरीले फोन गर्दा घर जाने मन भएपनि बिरामीको उपचार र निको बनाएर मात्र घर फर्कने अठोट लिएर उनले काम गरिरहेकी छिन् । उनले भनिन्, ‘सयौं बर्षमा आएको महामारीलाई अबसरको रुपमा लिएर चुनौती सामना गर्न खोजेकी छु ।’
आँफू पनि बाँचेर मात्र काम गर्नुपर्छ भन्ने सिक्न पायौं
देवी भट्टराई,
सिनियर नर्स, धौलागिरी अञ्चल अस्पताल
तनहुँको राइपुर घर भएपनि बिगत २१ बर्षदेखि बागलुङमा बसेर काम गरेकी देवी भट्टराई सिनियर नर्समा पर्छिन् । २०४५ सालमा स्थायी नर्समा नाम निकालेर काम थालेपछि उनले धेरै समय बागलुङ बिताइन् । त्यसअघि उनी बीर अस्पतालमा कार्यरत थिइन् । दशरथ रंगाशालामा भएको दुर्घटनाको बेला बीर अस्पतालमा काम गरेको पहिलो अनुभवबाट उनले महामारी र दुर्घटनाहरु कस्तो हुन्छ भन्ने बुझेको बताइन् ।
अस्पतालमा संचालित धेरै कार्यक्रमदेखि प्रकोप व्यवस्थापनमा भट्टराईले जिम्मा लिंदै आएकी थिइन् । श्रीमान रामप्रसाद पनि स्वास्थ्य क्षेत्रमा धेरै समय काम गरेका थिए । त्यसैले उनलाई यो क्षेत्र बढी सहज छ । अहिले श्रीमान अमेरिकामा छन् । एक महिनादेखि होम क्वारेन्टाइनमा बसेका उनले पटक–पटक फोन गरेर सुरक्षित रहन आग्रह गर्छन् । हुनपनि अमेरिकाजस्तो देशमा समेत स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएका छन् । त्यसैले सजग भएर उपचारमा खटिने काम चुनौतीपूर्ण छ, भन्छिन् उनी ।
आइसोलेसनमा जानुपर्दा फुल पिपिइ लगाउने, अरु बिरामीलाई भेट्दा रेनकोट जस्तो प्लाष्टिक लगाएर काम गरेर चलेको बताइन् । बागलुङका दुई बिरामी निको भएर फर्केपछि पिपिई खपत कम छ । भाइरल खोकी तथा ज्वरोका बिरामीलाई उपचार गर्दा कुनै सुरक्षित पोशाक लगाउनै नपरेकोमा अहिले अत्यन्तै जटिल समस्या भोग्नुपरेको उनले सुनाइन् । ‘पेशागत धर्मले हामी कुनै पनि काममा पछि पर्दैनौं, तर आ“फू पनि बा“चेर मात्र काम गर्नुपर्छ भन्ने मान्यता अहिले यो महामारीमा मात्र सिक्न पायौं । २४ घण्टा खटिने तीनजना नर्सहरुमध्ये उनी पनि आइसोलेसनमा ८ घण्टा खटिइन् । नियमित उपचारमा पनि उनले उत्तिकै समय दिइन् । पहिला त्रिविको अनमी पढेपछि उनले पाल्पास्थित मिसन अस्पतालमा स्टाफ नर्स पढेकी हुन् । मिसन अस्पतालको गाइडले आफ्नो स्वभावसमेत सहयोगी र बिरामी देखेपछि सेवा गरिरहुँजस्तो हुने गरेको समेत उनले अनुभव सुनाइन् । अस्पतालमा आधारित संकट व्यवस्थापन केन्द्रमा पनि उनले दशकदेखि काम गर्दै आएकी छिन् । सडकमा अलपत्र परेका, हिंसामा परेका जस्ता महिलाको एकद्वार प्रणालीबाट उद्दार गर्ने यो केन्द्र हो । यहाँ आएको पिडितले अस्पतालजन्य उपचारदेखि कानूनी उपचार समेत भित्रैबाट पाउने व्यवस्था छ । त्यसको उनी इन्चार्ज समेत हुन् ।
निश्चित फ्रेमवर्क बनाएर काम गर्दा सफल भयौ
मिलन बरुवाल
(सिनियर नर्स, धौलागिरी अञ्चल अस्पताल)
सदरमुकाममै घर भएकोले मिलन बरुवालले पनि अस्पतालमा अधिकांस समय दिएर संक्रमितको उपचार र अन्य सेवामा खटिइन् । कोरोना भाइरसको संक्रमणपछि उनी अस्पतालको फ्रन्टलाइनमा खटिने नर्स हुन् । बिरामी घर फर्केपनि उनले आफ्नो नियमित काममा उत्तिकै समय दिएकी छिन् ।
अहिले धौलागिरी अञ्चल अस्पताल कोरोना उपचार केन्द्र जस्तै छ । आइसोलेसनको अनुभव, बिरामीको दैनिक परीक्षण र डिस्चार्जको अनुभव पाएकोले अब सजिलै उपचार गर्न सकिन्छ भन्नेमा नर्सहरु पुगेका छन् । आइसोलेसनबाहेक इन्डोर, डाएलाएसिस, इर्मेजेन्सी लगायतका सबै सेवामा उनले पनि उत्तिकै काम गरेर साहस देखाइन् । त्यसैले सुरक्षित भएर काम गर्ने मत्र नभई घरपरिवारलाई समेत सुरक्षित राख्ने चुनौती पुरा गर्न सकेको उनले बताइन् । यति धेरै कठिन अबस्थामा काम गरेको उनको अरु अनुभव छैन । त्यसैले युट्युब हेरेर धेरै उपचार पद्दतीको खोजी गरेको उनले बताइन् । भन्छिन्– ‘संसारभर एउटै समस्या भोगेको बिषय भएकोले हामी पनि अनविज्ञ हुनु स्वाभाबिक हो । तर युट्युवको सहाराले धेरै कुरा सिकेकी छु ।’ कति दुरीमा बसेर उपचार गर्ने, कसरी आइसोलेसनमा जाने र फर्कने भन्ने निश्चित फ्रेमवर्क बनाएर काम गर्दा सफल भएको उनले बताइन् ।
अन्य महामारीमा बिरामी मर्छ की भनेर डराउँदै काम गरेकोमा यो पटक आँफू र आफ्नो परिवार समेतमा संक्रमण हुन नदिनेगरी कसरी काम गर्ने भन्ने सजगता चाहिएको उनको अनुभव छ । हरेक दिन पिपिई लगाएर फेर्ने बेलामा बढी साबधानी अपनाउने गरेको उनले बताइन् । बरुवालले भनिन्, ‘धेरै महामारी अनुभव गरियो, यस्तो मानिसदेखेर मानिस डराउने अबस्था आएको थिएन ।’ मानव जातीकै अस्तित्वका लागि लड्नेभएकोले सबैजना चनाखो बन्ने र सुरक्षित बन्नुपर्ने उनले सुझाव दिइन् ।
पूर्वाञ्चल विश्वविद्यालयबाट बिएन र त्रिवि शिक्षण अस्पतालबाट स्नातकोत्तर गरेकी बरुवाल १३ बर्षदेखि बागलुङमा क्रियाशिल छिन् । उनले अहिलेसम्म मौषमी फ्लु र सडक दुर्घटनाका घटनामा काम गरेको बताईन् । डिजास्टर म्यानेजमेन्टतर्फ भूकम्पको जोखिमको बेला काम गरेको अनुभव संगालेकी छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->