स्याङ्जा, १८ बैशाख– खुमा अर्याल फाउण्डेशनले वालिङ नगरपालिकालाई साढे ४ टन चामल सहयोग गरेको छ । भीरकोट–७ मा रहेको फाउण्डेशनले वालिङ नगरपालिकामा स्थापना भएको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा चामल जम्मा गरेको हो । लकडाउनका कारण खाद्यान्नको अभाव सिर्जना भएकाहरुलाई राहत स्वरुप चामल उपलब्ध गराईएको फाउण्डेशनका उपाध्यक्ष लेखनाथ शर्माले बताए ।
फाउण्डेशनले नगरपालिकालाई ५० किलोको ९० बोरा चामल उपलब्ध गराएको हो । फाउण्डेशनले उपलब्ध गराएको चामल ग्रहण गर्दै नगर प्रमुख दिलिपप्रताप खाँणले खाद्यान्न उपलब्ध गराएर नगरपालिकालाई ठूलो सहयोग गरेकोमा धन्यवाद दिए । नगरपालिकाले प्राथमिकताका आधारमा राहत वितरण गर्ने बताउँदै खाँणले प्राप्त खाद्यान्नलाई पारदर्शी र सही सदुपयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।





