बागलुङ, १८ बैशाख– सिसाखानी पुग्ने सबैभन्दा छोटो बहुप्रतिक्षित खर्वाङ–सिसाखानीसडक निर्माण कार्य सुरु भएको छ । भौतिक मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङ मातहत संसद विकास कोषमार्फत विनियोजित १ करोड रकममा सो सडकखण्डको निर्माण कार्य सुरु भएको हो । सो सडक निर्माणको लागि एसि कन्ट्रक्सनले ५४ लाख १५ हजार ६ सयमा विड गरेको र सोहीअनुसार निर्माण सुरु भएको इन्जिनियर प्रकाश श्रीसले जानकारी दिए ।
१० वर्षअघिबाट सडक निर्माण कार्य सुरु भएपनि पर्याप्त वजेट अभावमा सम्पन्न हुन सकेको थिएन । खर्वाङबाट ८ किलोमिटर दुरीमा सिसाखानीको भलामी पुग्न सकिने भएपनि सडक अभावमा स्थानीय रिघा तथा दगातुन्डाँडाको घुमाउरो बाटो भएर यात्रा गर्न बाध्य छन् । हालसम्म सडकको झण्डै ४ किलोमिटर भाग सम्पन्न भएको छ । यसवर्ष बाँकी सडक पुरा गर्ने भन्दै पहिलो चरणमा १ करोड र दोश्रो चरणमा २ करोड वजेट विनियोजन गरिएको सांसद देवेन्द्र पौडेलले बताए । सडक डिभिजन कार्यालयअन्तर्गत नै थप २ करोडको टेन्डर आह्वान गर्ने तयारी भएपनि लकडाउनका कारण समस्या भएको इन्जिनियर श्रीसले बताए ।
पहिलो चरणको रकमबाट सडक निर्माण हुन थालेपछि खुसी भएका स्थानीय सडक पुरा नहुने होकी भन्ने चिन्तामा छन् । बाँकी २ करोडको काम भए भलामी जोड्न सकिने तर अहिले कार्य सुरु भएको रकमले झण्डै १ किलोमिटर मात्रै सडक थप हुने इन्जिनियर श्रीसले जानकारी दिए । सम्झौता अनुसार, सडकको २८ हजार घनमिटर नयाँ माटो÷ढुंगा कटिङ गरिने र बाँकी काम स्टक्चरको हुने निर्माण कम्पनीका मेख बहादुर पाइजाले बताए । सो सडक निर्माण भए बडिगाड गाउँपालिकाको वडा नं. २, १, नेपाने, ३ सिसाखानीसहित गल्कोट नगरपालिकाको पाण्डवखानी र रिघाबासीसमेत प्रत्यक्ष लाभान्वित हुनेछन् ।





