बागलुङ, १८ बैशाख – विश्वका विभिन्न देशमा छरिएर रहेका बागलुङेहरुले धौलागिरी अंचल अस्पताल बागलुङलाई अति आवस्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् । उनीहरुले संकलन गरेको १० लाख ३० हजार रुपैयाँबाट स्वास्थ्य सामग्री खरिद गरी अस्पताललाई हस्तान्तरण गरिएको हो ।
अस्पतालमा तत्कालका लागि चाहिने पिपिईदेखि अत्यावस्यक सामाग्री र उपकरण खरिद गरेर ल्याएपछि बिहिबार एक कार्यक्रमबीच संघिय सांसद डा. सूर्य पाठकले उक्त सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरलाइ हस्तान्तरण गरेका थिए । उनले बिदेशबाट आउने सहयोगबाट अस्पतालको सुधारमा महत्वपूर्ण योगदान पुगेको बताए । पाठकले अस्पतालको पूर्वाधार बिकासको अभियानमा सरकारसँग सहकार्य गर्ने अभियानमा निरन्तर साथ दिएका छन् ।
अस्पतालले दुई जना कोरोना संक्रमित उपचार गरेर घर पठाएपछि यहाँ सामग्रीसमेत जुटाउन भन्दै उनीहरुले सहयोग गरेका हुन् ।
बागलुङ समाज जापान, कतार, स्पेन, पोर्तुगल, बेल्जियम, युएइ, कोरिया, क्यानडा, मलेसियाबाट सहयोग आएको हो । बागलुङ युवा समाज अष्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, स्विडेन, फ्रान्स र नर्वेलगायतका देशमा बस्ने युवाले पनि सहयोग गरेका हुन् । स्पेनस्थित पर्यटन सद्भावना दुत तथा एनआरएन युरोपका निर्वतमान उपसंयोजक एकराज गिरी, सामाजिक अभियन्ता कृष्ण प्रसाद शर्मा, कतार एनआरएनए आइसिसी सदस्य रमेश भट्ट, जापानका सिद्धार्थ श्रेष्ठ र दक्षिण कोरियाका राम शर्माको अगुवाईमा यो अभियान थालिएको थियो ।
अभियानमा कतारबाट कृष्णप्रसाद, रमेश भट्ट, सिद्धार्थ श्रेष्ठ, राम शर्मा, सूर्य हमाल र राज रेग्मीले पनि सहयोग जुटाएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले थप सहयोगको आश्वासन पनि दिएका छन् । यो अभियानमा सूर्य हमालले १ लाख ३० हजार, राज रेग्मीले १ लाख सहयोग गरेका छन् । युएसएबाट कलाकार नवराज पन्तले रु. ५० हजार सहयोग गरेका छन् ।
बागलुङ समाज जापानको १ लाख, बागलुङ युवा समाज अष्ट्रेलियाबाट १ लाख, कोरियाको ७५ हजार, कतारको ७० हजार, स्पेनको ५० हजार, पोर्चुगलको ५० हजार, बेल्जियमको ५० हजार र युएइको ५० हजार रुपैयाँ आएको हो । क्यानडा, अमेरिका, बेलायतबाट ५० हजारको दरले सहयोग आएको छ । अमेरिकामा बस्नेहरुले लकडाउनका कारण तत्काल नगद पठाउन नसकेपछि स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेले रकम उपलब्ध गराएर कोष पुरा गरिदिएका थिए । जर्मनी र मलसियाबाट ३०/३० हजार, नर्वेबाट राजन गौचन र बिष्णु गौतमले २० हजार, बेलायतकै बिक्की सापकोटाले १५ हजार, स्विडेनका प्रेम गौतमले ११ हजार र फ्रान्सका ज्योती अधिकारीले १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
अस्पताल व्यवस्थापन समितिले पनि भौतिक पूर्वाधारसहित अन्य प्राविधिक बिषय पनि थप गर्दै प्रादेशिक तहको अस्पताल बनाउने अभियान चलाएको छ । गण्डकी प्रदेश सरकारले धौलागिरी अञ्चल अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरिसकेको छ । प्रदेश सरकारले नै गण्डकीका सबै अस्पतालमा आइसियु लगायतका उपकरण जडान गर्ने निर्णय गरेको छ । अस्पतालले भने यसअघिनै आइसियुको तयारी थालेको छ । भेन्टीलेटरसमेत जडान भएको छ ।
संघिय सरकारमार्फत समितिले अस्पतालमै बालबालिकाको लागि सिसियु र सिटिस्क्यान लगायतको सेवा थप गर्ने अभियान पनि चलाएको छ । सहयोगको आश्वासन पनि आइरहेको रानाले बताए । कोरोना संक्रमण भएको थाहा पाएपछि पोखरा र काठमाण्डौका अस्पतालले समेत नमान्दा धौलागिरी अञ्चल अस्पतालले आइसोलेसन वार्ड बनाएर उपचार गरेपछि देशभरबाट अस्पताललाई साथ र सहयोग बढ्न लागेको हो ।
अस्पतालको टिमवर्कबाटै यो अभियान सफल भएको समितिका सदस्य शालिकराम शर्माले बताए । ‘सामान्य पूर्वाधारबाटै टिमवर्कले काम गर्दा सफल भएको उदाहरण हामी बनेका छौं, अझै प्रयास गरेर प्रदेशकै नमूना अस्पताल बनाउन पहल भैरहेको छ’ शर्माले भने ।





