बागलुङ, १९ बैशाख – कोरोनासँगको लडाईंका लागि स्थानीयस्तरमा समेत प्रबिधिको खोजी भैरहेको छ । कतै खुट्टाले खोल्न मिल्ने धारा बनेका छन्भने कतै सेनिटाईजर छर्किने टनेल । कोरोनाका बिरामीको सफल उपचार गरेको धौलागिरी अञ्चल अस्पतालका लागि यहाँको एक संस्थाले फुलवडी सेनिटाईज टनेल बनाएर हस्तान्तरण गरेको छ ।
बागलुङका केबल टि.भी नेटवर्कका व्यवसायी सञ्चालक राजकुमार श्रेष्ठ र मनोजकुमार श्रेष्ठले निर्माण गरेको टनेल शुक्रबार अस्पताललाई हस्तान्तरण गरेका छन् । अस्पतालमा बिरामी र सर्वसाधारणको चाप बढि हुने भएकाले कोरोना संक्रमण न्यूनीकरणका लागि अस्पताललाई आफुहरुले निर्माण गरेको टनेल हस्तान्तरण गरिएको व्यवसायी राजकुमार श्रेष्ठले जानकारी दिए ।
टनेलभित्र प्रवेश गर्दा साथ सर्वसाधरणहरुले पुर्ण स्वचालित सेनिटाइज गरी कोरोना भाइरसबाट बचाउन सहयोग गर्दछ । कपडा तथा शरीरमा संक्रमण भएमा सेनिटाईजले संक्रमणबाट बच्न सकिने डाक्टरको सल्लाहअनुसार आफुहरुले निर्माण गरेको श्रेष्ठले जानकारी दिए । उनीहरुले ३५ हजारको लागतमा व्यक्तिगत खर्च तथा ज्ञानका आधारमा टनेल निर्माण गरेका हुन् । सो टनेललाई बिजुली नभएको बेला सामान्य ब्याट्रीबाट संचालन गर्न सकिने र प्रतिब्याक्ति ७० एमएल खर्च हुने उनको भनाई छ ।
स्थानीय स्रोत र साधन जडान गरी निर्माण गरिएको अटोमेटिक सेनिटाइज टनेलले कोरोना भाइरस नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने धौलागिरि अञ्चल व्यवस्थापन समितिका अध्यक्ष के. वि. रानामगरले बताए । श्रेष्ठ दाजुभाईले निर्माण गरेको टनेल अस्पताललाई हस्तान्तरण गरेर उदाहरणीय काम गरेको उनको भनाई थियो ।
धौलागिरी अञ्चल अस्पतालसंग समन्वय गरेर टनेल निर्माण गरिएको जानकारी दिँदै मनोज कुमार श्रेष्ठले पुराना ईलेक्ट्रिकल सामानबाट मेसिन निर्माण गरेको जानकारी दिए । सेन्सर जडान गरिएकोले मानिस आएको सेन्सरले थाहा पाउने र मोटरलाई चालु गराई सेनिटाइजर स्प्रे गर्न सकिन्छ । मानिस टनेलमा प्रवेश गर्दासाथ अटोमेटिक रुपमा सेनिटाइज हुने र मानिस बाहिरिँदासाथ बन्द हुने श्रेष्ठले बताए ।





