काठमाडौं, २० वैशाख – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ । स्थायी कमिटी बैठक वैशाख २५ गते बस्ने भएको छ । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘पार्टीको एकता, सहमति र समस्या समाधानको निष्कर्ष अनुरुप पार्टीलाई दिशानिर्देशित गर्नेगरी स्थायी कमिटीको बैठक यही वैशाख २५ गते ११ बजे बस्ने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसको तयारीका लागि वैशाख २४ गते सचिवालय बैठक बस्नेछ ।’
‘उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने । प्रधानमन्त्री ओलीले गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेसँगै यो निर्णय सचिवालय बैठकले गरेको हो ।





