`

एउटा बस्तीको यो कथा !

  • यो बस्तीमा बस्नेहरु मुस्लिमभन्दा पनि पहिले चुरुटे वा चुरौटेको नामबाट चिनिए

    • ढोरपाटन संवाददाता
    • मङ्लबार, बैशाख २३, २०७७

    पोखरा, २३ बैशाख– सुनसान बस्ती, ताल्चा ठोकिएको मस्जिद ! लाग्छ, बस्ती सुतेको छ । समय उस्तै हुन्थ्यो भने, यतिबेला मस्जिदबाट ‘अल्लाहु .. अक्बर .. गुन्जन्थ्यो । रमजानभर नमाज पढ्नेहरुको भीड लाग्थ्यो । तर, कोरोना भाइरसको संक्रमणपछि लागु भएको लकडाउनले यो वर्ष पोखराको मियाँपाटनमा रहेको मस्जिदमा नमाज पढ्नेहरुको चहलपहल छैन । मस्जिदले घरमै कुरान पढ्न र रोजा बस्न सुझाएको छ । अनि, अक्सा जामे मस्जिद सुनसान छ । इस्लामी क्यालेण्डरको नवौं महिनाको सुरुदेखि रमदान दशौं महिनामा इद–उल फित्र पनि लकडाउनमा परेको छ ।
    पोखराको धेरै पाटनमध्येको एउटा पाटन हो, मियाँपाटन । मियाँपाटनमा करिब ३ सय मुस्लिम धर्मावलम्बीहरु बस्छन् । उनीहरु कहाँबाट आए ? कहिलेदेखि यहाँ बसे ? तिथि– मिति नमिल्ला तर मियाँपाटन पोखराकै पुरानो बस्तीमध्येको एक हो भन्नेमा चाहिँ कुनै शंका छैन । यो बस्तीमा बस्नेहरु मुस्लिमभन्दा पनि पहिले चुरुटे वा चुरौटेको नामबाट चिनिए । हिन्दु महिलाहरुको सौभाग्य सामानहरु चुरा, पोते, ऐना, काइँयो,टीका बेच्ने व्यापारीहरुलाई गाउँलेहरुले चुरासँग जोडेर चुरुटेको संज्ञा दिए । उनीहरु चुरुटे कहलिए । काम थियो,‘डुलेर सामान बेच्नू ।’
    कवि हनिफ मियाँका अनुसार त्यो बेला यस्ता व्यापारीहरुले शौभाग्यका सामानहरुमा भन्सार छुट पाउँथे । भन्सार छुटका सामान घरघरै वा जात्रा, मेलामा बेचिन्थ्यो । ‘त्यो बेलाका राजाहरुले टीका, धागो, काइँयो, चुराजस्ता सामानमा भन्सार छुट दिएका थिए’, उनले भने, ‘हाम्रा पुर्खाहरु भारत गएर सामान ल्याउँथे र यहाँ बेच्थे ।’ उनले त्यो छुटलाई कुनै बेला मनाङबासीले हङकङ जान र व्यापार गर्न पाएको छुटसँग तुलना गरे । हनिफका अनुसार राजाले बोलाएर भारतबाट आएका हुन् रे, उनका पूर्वजहरु । त्यसो त, नेपालको आधुनिक इतिहासले पनि कास्कीका राजा सिद्धिनारायण शाहको पालामा उनीहरु पोखरा आएको बताउँछ । सिद्धिनरसिंहले १८०० सालतिर राजा भएका थिए । हनिफका अनुसार सुरुमा मियाँहरु विन्ध्यवासिनी पछाडितिर बस्थे रे । त्यहाँबाट ठाउँ सर्दै अमलाचौर, नुनछरेको पाटन र अन्त्यमा मौलापाटनमा बास बिसाए रे । पुराना मान्छेहरुले मियाँपाटनलाइृ अहिले पनि मौलापाटन भनेको उनी सम्झन्छन् । उनले शमशुद्धिन,जाशुद्धिनलगायतका आफ्ना पुर्खाहरुले मियाँपाटनमै जीवन बिताएको पनि सम्झे ।

    मियाँहरुलाई नजिकबाट बुझ्ने स्वतन्त्र विष्लेषक विश्व सिग्देलले त तिजारत ( व्यापार) मा पारंगत शौभाग्यका सामग्रीहरु धागो,चुरा,पोते,टीका बेच्ने मुस्लिमहरुको बस्ती नै पोखराको पहिलो बस्ती भएको बताउँछन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी मिचा खाँको नेतृत्वमा चुरौटेहरु भारतबाट नेपाल आएको विश्वास गर्छन् । उनका अनुसार भारतबाट आएपछि उनीहरुले स्याङ्जाको भिरकोटमा बस्ती बसाले अनि पोखरा सरे । व्यापारको लागि नै उनीहरुलाई नेपाल ल्याइएको थियो । त्यसो त, हतियार र बारुद बनाउन सिपालु भएकाले पनि मुस्लिमहरुलाई नेपाल झिकाइएको उनको भनाई छ । व्यापारको लागि सिद्धिनारायणले नै भक्तपुरबाट २६ कुरिया नेवारलाई पोखरा झिकाएर यहाँको भैरवटोल र भिमसेनटोलमा बस्ने व्यवस्था मिलाएका थिए ।
    नेपाली विकिपिडियामा ‘अग्लो कद, स्वाभिमानी आँखा,मिजासिलो बोली भएकाहरुलाई चुरुटे वा चुरौटे भनिने उल्लेख गरिएको छ । सातौँ शताब्दीतिर नेपाल–अरब व्यापार हुन थालेको बेला नै नेपालमा मुस्लिमहरु आएको सन् ७८२÷०८३ तिर अरवीमा लेखिएको हुउद अल आलममा चर्चा गरिएको पाइन्छ । त्यो बेला नेपालबाट कस्तुरी अरव पठाइन्थ्यो । आधुनिक इतिहासमा भने, काठमाडौंमा राजा रत्न मल्लले १४८४ देखि १५२० सम्म मुसलमानलाई स्थायी बसोबासको व्यवस्था मिलाएको उल्लेख गरिएको छ ।
    मियाँहरुलाई नजिकबाट बुझ्ने स्वतन्त्र विष्लेषक विश्व सिग्देलले त तिजारत ( व्यापार) मा पारंगत शौभाग्यका सामग्रीहरु धागो, चुरा, पोते, टीका बेच्ने मुस्लिमहरुको बस्ती नै पोखराको पहिलो बस्ती भएको बताउँछन् । मल्लकालीन समयमा राजाकोमा नाचगान गर्न,नाटक देखाउनका लागि नेपाल छिरेका मुस्लिमहरुले नै औलो लाग्ने पोखरामा बस्ती बसाएको उनको भनाई छ । ‘अदालतमा प्रयोग हुने ‘अदालत,वकिल,दरखास्त’ जस्ता फारसी शव्दहरु उनीहरुसँगै नेपाल भित्रिएका हुन्,’, उनले भनेका छन्,‘ व्यापार व्यबसायलाई ब्यबस्थित गर्नका लागि कश्मिरबाट केही मुसलमानहरु नेपाल छिरेका थिए र कालान्तरमा उनीहरु देशका विभिन्न भागमा छरिए ।’ पोखराको मियाँपाटन तीमध्येकै पुरानो र विशेष महत्व बोकेको उनले जिकिर गरे । संस्कृतिकर्मी तीर्थ श्रेष्ठका अनुसार हिन्दु महिलाहरुको लागि चाडबाडमा अत्यावश्यक मानिने सौभाग्यका सामान बेच्ने भएकाले उनीहरु नेपाली समाज र संस्कृतिसँग भ्याम्मिए ।
    ‘हिन्दु महिलाले मनाउने हरितालीका तीज मुस्लिमहरुको व्यापार गर्ने मौका बनेपछि स्वभाविक रुपमा उनीहरुले यहाँको संस्कृति तथा रहन–सहनसँग आफूलाई अभ्यस्त गराए’, उनले भने,‘ उनीहरुले नेपाली ढाकाटोपीलाई आफ्नो बनाए, आफूलाई नेपाली मुसलमान भएकोमा गर्वित ठाने ।’ मियाँपाटनमै जन्मेका अली मियाँले नेपाली लोकसंस्कृतिलाई ठूलो गुन लगाए । मुसलमान भएर पनि रामायणका कथा भन्न सक्नु उनको विशेषता र महानता दुबै भएको श्रेष्ठले तर्क गरे ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology