बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरामा निर्माण क्षेत्र खुकुलो, विकास निर्माणका कामहरु सुरु

पोखरामा निर्माण क्षेत्र खुकुलो, विकास निर्माणका कामहरु सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७७, आइतबार

पोखरा, २८ बैशाख – अत्यावश्यक क्षेत्रका कामलाई सर्तसहित काममा फर्किने निर्णय सरकारले लिएसँगै विकास निर्माणका कामले बिस्तारै गति लिन थालेका छन् । केही ठूला आयोजनाका कामहरु लकडाउनमा पनि सञ्चालनमा आए पनि पुल पुलेसादेखि बाटोघाटो निर्माणका काम भने ठप्प थिए ।
सरकारले ४२ वटा अत्यावश्यक क्षेत्रमा सरकारले लकडाउन खुकुलो पार्ने निर्णय लिएसँगै पोखरा महानगरमा पनि सानातिना विकास निर्माणका कामहरु सुरु हुन थालेका छन् । दैनिक ज्यालादारी गरेर पेट पाल्ने मजदुरहरुको लागि महानगरले नै कामको व्यवस्था मिलाइदिने बताएको थियो । महानगरले विपद् व्यवस्थापन कोष खडा गरेर त्यस्ता परिवारलाई खाना कुराको जोहो पनि मिलाउँदै आएकोमा अहिले त्यो अभियान बन्द भएको छ । महानगरले बिस्तारै त्यस्ता परिवारलाई काम दिने नीति लिएको छ ।
महानगरका प्रवक्ता धनबहादुर नेपालीका अनुसार वडाले आफ्नै पहलमा काममा फर्काइसकेको छ । बाँकी रहेकालाई पनि फर्काउने तयारी पनि महानगरले थालेको छ । ‘त्यसैको तयारी हुँदै छ’, उनले भने,‘काम सुरु भई सकेको ठाउँमा मजदुरहरुलाई काममा पनि पठाइसकेका छौं । बाँकीलाई के गर्ने योजना बनाइरहेका छौँ ।’
आफ्नो सम्पर्कमा आएका मजदुरलाई काम सुरु भइसकेको ठाउँमा पठाइएको उनले सुनाए । अल्पकालीन खालका विकास योजनाका काममा उनीहरुलाई फर्काउन थालिएको उनले जानकारी दिए । ‘अब त विस्तारै सहज पनि होला’, उनले भने, ‘तत्काललाई सुरु भएका योजनामा फर्काउदै छौँ । अब विकास निर्माणका काम भनेपछि मजदुरको कुरा जोडिने भयो, निर्माण सामग्री ढुवानीका कुरा जोडिने भयो । यी सबै अन्तरसम्बन्धित कुरा भए, यी सबैको व्यवस्थापन गरेर अघि बढ्ने भनेर लागिपरेका छौं ।’
राहतले मात्रै थाम्न नसक्ने हुँदा मजदुरहरुलाई काममा फर्काउन थालिएको उनले सुनाए । ‘कहिलेसम्म थाम्न सकिन्छ भन्ने थाहा छैन’,उनले भने, ‘यसको व्यवस्था गर्दैछौँ ।’ यद्यपि, राहत आवश्यक परे महानगरले उपलब्ध गराउने पनि उनले सुनाए । शनिबार मात्रै तमु धिं नेपालले महानगरको विपद् व्यवस्थापन कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको थियो ।
सुरुमा २ करोड रुपैयाँको हाराहारिमा सुरु भएको राहत कोषमा पछि ४ करोड १५ लाख जम्मा भएको उनले जानकारी दिए । जसमध्ये ३ करोड २५ लाख राहत बाँडिसकेको उनले जानकारी दिए । विपद्मा परेका र आवश्यक परेकालाई महानगरले राहत उपलब्ध गराइरहेको उनले बताए ।
महानगरका साना योजनाहरु लगभग सबै जसो सुरु भइसकेकाले अब राहत भन्दापनि काममा जोड दिइएको उनले बताए । साना आयोजनाहरु लगभग सुरु भइसकेका छन्’, उनले भने, ‘कामदारसँग सम्झौता भएका योजनाहरु, दुइचार बोरा सिमेन्टले हुने काम त सकौला, सय बोरा सिमन्ट चाहियो भने त सम्भव हुँदैन ।’दैनिक ज्यालादारी गरेर खाने मजदुरलाई सकभर काम नै दिने महानगरले नीति बनाएको उनले सुनाए । ‘महानगरको अबको नीति भनेको काम सँगसँगै माम पनि दिने हो’, उनले भने । महानगरले काम दिने सिलसिलामा पोखराको फेवाताल क्षेत्रका जलारी समुदायलाई फेवातालबाट जलकुम्भी निकाल्ने काम दिएको छ ।
तस्विर : फाइल फोटो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->