काठमाडौं, २८ बैशाख – नेपालमा हालसम्म कोरोना भाइरस आशंकामा ७३ हजार ५५५ नमूना परीक्षण भएका छन्। जसमध्ये पीसीआरबाट १६ हजार ८९८ आरडीटी प्रविधिबाट ५६ हजार ६५७ नमूना परीक्षण भएका हुन्। रेड जोनमा ३४५ जना रहेका छन्। गत २४ घन्टामा १ हजार ३१६ नयाँ नमूना परीक्षण भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सातवटै प्रदेशबाट आरडीटी परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा ७ हजार ०५५ , प्रदेश २ मा ५ हजार ८९०, बागमती प्रदेशमा ९ हजार १८१ ,गण्डकी प्रदेशमा ६ हजार ३७७, प्रदेश ५ मा ६ हजार ७७४ , कर्णाली प्रदेशमा ६हजार ३६३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९१० गरी ५६ हजार ५५० वटा आरडीटी परीक्षण भएका छन्।
यस्तै क्वारेन्टाइनमा १३ हजार ६२५ रहेका छन्। जसमध्ये प्रदेश १ मा १हजार २३८, प्रदेश २ मा १ हजार ४४३ , बागमती प्रदेशमा ११०,गण्डकी प्रदेशमा २४२, प्रदेश ५ मा ४ हजार ९४२ , कर्णाली प्रदेशमा २ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा ३हजार ३२४ गरी कूल १३ हजार ६२५ जना रहेका छन्।
आइसोलेसनमा बस्नेको संख्या १६४ जना पुगेको छ।काठमाडौंमा ३ र उपत्यकाका बाहिर १६१ जना छन्।यस्तै रेड जोनमा ३४० जना छन्। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ११० पुगेको छ। जसमध्ये ७८ पुरुष र ३२ महिला छन्। यस्तै कोरोना जित्नेको संख्या ३१ पुगेको छ। बाँकी बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता देवकोटाले बालबालिकालाई आइसोलेसन वा क्वारेन्टाइनमा राख्नुपरे उचित बालमैत्री वातावरणमा राखिदिन सम्बन्धित सरोकारवालालाई आग्रह गरे।





