स्याङ्जा, ३ जेठ – वैदेशिक रोजगारीको शिल्शिलामा विश्वभर छरीएर रहेका नेपालीहरु कोरोनाको सन्त्रासमा रहेका छन् । चीनको वुहानबाट सुरु भएर विश्वभरी महामारीको रुपमा फैलीएको कोरोनाको सन्त्रासले देश छाडेर कोही रोजगारी त कोही अध्ययनको शिलशिलामा गएकाहरुलाई रोजगारी र अध्ययन भन्दा पनि स्वदेश फर्कने हुटहुटीले सताएको छ ।
विश्वभर महामारीको रुपमा फैलीएको कोरोना फैलिन नदिन र यसबाट हुने संक्रमण रोक्न नेपाल सरकारले लकडाउनको घोषणा गरेसंगै आन्तरिक एवं बाह्य उडान रोकेपछि आवागमनका सबै बाटाहरु बन्द भएका छन् । सरकारले अन्तराष्ट्रिय उडान बन्द नगर्दो हो त अहिलेसम्म विदेशमा भएका लाखौ नेपालीहरु स्वदेश भित्रिसकेका हुने थिए । अझै पनि उनीहरु उडान खुल्ने प्रतिक्षामा छन् ।
संकटको बेला पराइको भूमीमा रहेकाहरु स्वदेश फर्कने चाहना राख्नु पक्कै पनि नजाहेज होइन तर पनि के गर्नु सबै चाहना त कहाँ पो पुरा हुन सक्छन् र कोरोनाको सन्त्रासले सबैलाई पिरोलेको छ । सारा विश्व नै यसको समाधानका बारेमा चिन्तित बनेको छ भने बन्दाबन्दी घोषणा गरेर हरसम्भव सुरक्षाका उपायहरु अपनाइ रहेका छन् । सुरु भएको चीनमा यसको प्रभाव निकै कम देखिन थालेको छ भने इटालीमा महामारीको रुपमा फैलीएको कोरोना अहिले भने सुरुको तुलनामा घटदै गएको देखिन्छ । तर अन्य युरोपीयन मुलुकमा यसको प्रकोप झन बढ्दै जानुले पनि सिंगो मानव जातिलाई नै चिन्तित तुल्याएको छ । शक्तिशाली मानिएका अमेरिका, युके लगायतका देशमा मृत्यु हुने र संक्रमित हुनेको संख्या दिनहुँ बढ्दै गएपछि त्यहाँ रहेका नेपालीहरु यतिबेला त्रसित भएका छन् । विदेशमा रहेका आफन्तका घर परिवारमा यतिबेला निद्रा हराएको छ । दुःखको बेला घरपरिवार र आफन्तसंगै हुन पाए हुन्थ्यो भन्ने कुराले धेरैलाई पिरोलीरहेको छ ।
चापाकोट नगरपालिका– १ घर भइ हाल लन्डन (युके) को अल्डसटमा बस्दै आएका विष्णु थापाले लन्डनमा बस्ने नेपालीहरुको अवस्था दयनीय रहेको बताए । दिनदिनै मृत्यु हुनेहरु र संक्रमित हुनेहरुको संख्या बढ्दो छ । युकेमा रहेका भूतपुर्व गोरखा सैनिक र उनीहरुका परिवार समस्यामा परेको थापाले बताउछन् । थापाका अनुसार युकेमा अधिकांश भूतपुर्व सैनिकका परिवारहरु बसोवास गर्दै आएकोले उनीहरु बृद्घबृद्घा भएको र आफन्त एवं परिवार नेपालमा भएकोले समस्यामा पर्ने गरेका छन् । त्यहाको सरकारले बाहिर हिड्डुलमा कडाइ गरे संगै त्यहाँ बस्दै आएका पूर्व गोरखा सैनिकका परिवारलाई समस्या भएको हो । अधिकाशं बृद्धबृद्धा र त्यस माथि भाषाको समस्या हुदाँ मन लागेको कुरा किनेर खान र विरामी पर्दा समेत उपचारमा समस्या हुने गरेको थापाले बताए । थापाले टेलीफोनमा भने “म पनि एक महिना देखि जागिर छाडेर होम क्वारेन्टाइनमा बसेको छु ।” उनले भने अहिले बाहिर निस्किने अवस्था छैन । कतिबेला के हुन ेहो भन्ने चिन्ताले सताएको छ । आफुहरु रहेको अल्डसट सहरमा दश हजार बढि नेपाली रहेको र केही परिवार र छोराछोरीसंगै बस्दै आएपनि अधिकाशं बृद्घबद्घा भएकोले बाहिर डिडुल गर्न ब्यायम गर्नु पर्ने भए पनि घर भित्रै बस्नु पर्दा झन बिरामी हुने गरेको थापाले बताए ।
सन् २००९ देखि युकेको अल्डसटमा बस्दै आउनु भएका चितवन घर भएका ७७ वर्षीय भोजराज पौडेल र उनकी श्रीमती ६६ विष्णुमाया पौडेल अहिले समस्यामा परेका छन् । बुढेउली लागि सकेका उनीहरु परिवारमा नातिनातिनासंग रमाएर बस्नु पर्ने बेलामा विदेशी भुमीमा आफन्त कोही नभएर बेसाहारा हुनु पर्दा समस्यामा परेको पौडेल दम्पती बताउछन् । भोजराजका दुबै खुट्टाको घुडाको अप्रेसन गरेको छ भने विष्णुमायाले राम्रोसंग आँखा नदेखेपछि बृद्घ पौडेल दम्पती थप समस्यामा परेका हुन ।
भोजराजले युकेबाट टेलिफोनमा भने “म विरामी छु, बुढिले आँखा देख्दिन, आफन्त कोही नहुदा समस्यामा परेकाछौ ।” यसै गरि विष्णुमायाले नेपालमा रहेका छोरा बुहारीले फोन गरेर बारम्बार नेपाल आउन भने पनि बन्दका कारण आउन नपाएको बताउँदै भनिन, “के गर्ने छोरा छोरीको भविष्यको लागि यहाँ बसेर दुःख गरेकाछौ । छोराछोरीको कागजपत्र नमिलेकाले आफुहरु समस्या झेलेरै भए पनि बस्न बाध्य भएकाछौ ।” लण्डनको एक केयर होममा काम गर्दै आएकी सर्मिला राना थापाले सुरु सुरुमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न आवश्यक पर्ने सुरक्षा सामाग्रीको अभावमा काम गर्नु पर्दा निकै डर लागे पनि अहिले भने त्यस्तो नभएको बताइन । सर्मिलाले भनिन, “स्वास्थ्यकर्मी डराएर आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन, सुरक्षीत भएर काम गर्नु पर्छ । अहिले हामी त्यसै गरिरहेका छौ ।” सुरुसुरुमा आफुहरुले पनि पिपिई, मास्कको अभाव झेल्नु परे पनि अहिले भने त्यस्तो नभएको उनले बताइन ।
रोजगारीको शिल्शिलामा दक्षिण कोरियामा रहनु भएका नवलपरासी स्थित बर्दघाट नगरपालिका–१० का मित्रप्रसाद तिवारीले त्रासका बिच काम गरिरहेको बताउए । कोरोनाको त्रासका बिच सुरक्षाका विभिन्न उपायहरुको प्रयोग गरेर काम गरिरहेको बताए । तिवारीले भन,े “सुरु सुरुमा त निकै डरलागेको थियो अहिले कोरोनाका कारण मृत्यु हुने र संक्रमितको संख्या पहिलेको तुलनामा घटदै गएकोले केही राहात महसुुस भएको छ ।” स्वास्थ्यमा केही समस्या देखिएमा कम्पनिले तत्कालै उपचार गर्ने गरेको तिवारीको भनाइ छ । उनका अनुसार केही कामदारहरु विदा मिलाएर स्वदेश फर्किए पनि पछि हवाईउडान बन्द भएका कारण कोरियामै बसेर नियमित काममा जाने गरेका छन् । आफुहरु भन्दा घरमा भएका घरपरिवारले बढि पिर गर्ने गरेको बताउदै परिवार एकै ठाउमा नहुदाको पिडा अहिले महसुुस भएको तिवारीको भनाइ थियो । नेपालमा पनि कोरोनाको संक्रमण देखिएको छ । यसबाट बच्नको लागि सरकारले घोषणा गरेको लकडाउनलाई पालना गरि यसबाट बचनको लागि सबै सचेत हुनु पर्ने तिवारीले बताउछन् ।
कत्तारको दोहामा रहेका वालिङ नगरपालिका–८ का अजमत अलिले त्यहाँ रहेका धेरै नेपालीहरु कोरोना संक्रमणका कारण प्रभावित भएको बताए । अलिले भने, “यहाँ रहेका केही नेपालीको रोजगारी समेत प्रभावित भएको छ, भने केही कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । उनीहरुलाई कत्तार सरकारले आफ्ना नगरिक सरहको सेवा सुविधा दिएर औषधी उपचार गरिरहेको छ ।” स्याङ्जा सहयोग समाज कत्तारका अध्यक्ष समेत रहेका अलिले कत्तार च्यारिटीसंग समन्वय गरेर रोजगारी गुमेर समस्यामा परेका नेपालीहरुलाई सहयोग गरिरहेको बताए । लकडाउनका कारण कम्पनी बन्द भएर रोजगारी गुमाए पछि दुःखमा परेकालाई विभिन्न प्रकारका राहात समेत वितरण गर्दै आएको उनी बताउछन् । रोजगारी गुमाएर समस्यामा परेकाहरुलाई दुतावासंग पनि समन्वय गरेर कत्तारमा समस्यामा परेका नेपालीहरुलाई आफुहरुले सहयोग गर्दै आएको अलिले बताए ।
पुतलिबजार नगरपालिका र आँधीखोला गाउँपालिकाका रोजगारीको शिल्शिलामा कत्तारमा रहेका दुई जना युवा बिगत ८÷९ महिना देखि कोमामा रहेको र उनीहरुलाई आफुहरुले सहयोग गर्दै आएको समेत अलिले बताए ।
यसैगरी, ५ वर्ष देखि अमेरिकाको न्युवर्क नजिकै कनेकटिक्टमा बस्दै आएका सुनवल नगरपालिका–१० नवलपरासी गोविन्द पाण्डेले करिव डेढ महिना देखि घरमै बस्दै आएको बताए । कोरोना भाइरसको संक्रमण बढ्दै जान लागे पछि आफुहरु घर बाहिर निस्कन छाडेको पाण्डेको भनाइ छ । उनले भन,े “यहाँ रहेका नेपालीहरु धेरै जसो काममा जान छाडेर घर भित्रै बस्दै आएका छौ, अमेरिकनहरु भने संक्रमणको प्रभाहा नगरि काममा जाने गरेका छन् ।” अमेरिकाको लागि कोभिड १९ को रोकथामको लागि त्यारी गर्ने समय हुदाहुदै पनि मृत्यु हुने र संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि त्यहाँ रहेका नेपालीहरु चिन्तित हुने गरेको पाण्डेको बुझाइ छ ।
जापानमा बसेर पत्रकारिता गर्दै आएका मोहन घलेले कोरोना भाइरसका कारण नेपाली विद्यार्थीहरु र होटल ब्यावसाय गर्दै आएका बढि प्रभावित भएको बताए । पत्रकार महासंघ जापानका अध्यक्ष समेत रहेका घलेले भने, “नेपालबाट अध्ययनको लागि जापान आएका विद्यार्थीहरु पार्टटाइम रुपमा काम गर्ने भएकोले सरकारको संकटकाल घोषणासंगै उनीहरु समस्यामा परेका छन् ।” जापानमा रहेका केही नेपालीहरुमा कोरोना संक्रमण देखिए पनि उपचार पश्चात केही निको भएको र केहीको उपचार भइरहेको घलेले बताए । जापान सरकारलेप्रति व्याक्ति १ लाख राहात दिने जापान सरकारको घोषणाले धेरैलाई सहज भएकोे घले बताउछन् । नेपालीहरुको बढि रोजगारीको क्षेत्रका रुपमा चिनिएको होटल ब्यावसाय बन्द गर्नु पर्दा होटल ब्यावसाय गर्दै आएका नेपालीहरु र त्यस क्षेत्रमा काम गर्दै आएका धेरै मज्दुर प्रभावित भएको घलेले बताए ।
वैदेशिक रोजगारीमा रहेकाहरुले आफ्नो पीर नगर्न भनेर स्वदेशमा रहेका घर परिवारलाई सान्त्वना दिनखोजे पनि दिनप्रतिदिन बढ्दै गएको संक्र्रमणले विदेशमा रहका आफन्तजनका घरपरिवारलाई समेत पिरोलीरहेको छ ।
नेपालमा पनि कोरोना संक्रमणको संख्या दिनप्रतिदिन बढ्दै जादा विदेशमा रहेका आफन्त र यहाँ भएका घर परिवारहरु दोहोरो चिन्तामा पर्ने गरेका छन् । यो समस्याबाट पार पाउनको लागि जति पिरोलिए पनि लकडाउनको पुर्ण पालना गर्नुका साथै संक्रमणबाट बच्नको लागि सुरक्षा सामग्रीको प्रयोग गर्नुको विकल्प भने छैन ।





