सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राष्ट्रवाद देखाउन मात्र नक्सा जारी गरेको होइन : प्रधानमन्त्री

राष्ट्रवाद देखाउन मात्र नक्सा जारी गरेको होइन : प्रधानमन्त्री

भारतलाई प्रम ओलीको प्रश्न : सिंहमेव जयते कि सत्यमेव जयते ?


  • हरिनारायण गौतम
  • जेष्ठ ६ २०७७, मंगलबार

पोखरा, ६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको बताए ।
‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उनले भने ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’ प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिए । ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नुु पनि अनौठाने होइन’ उनले भने ।
 ‘निम्छरा’ बयान नदिन प्रधानमन्त्रीको चेतावनी
ओलीले चिनियाँ राजदूतले आफ्नो सरकार बचाएको भनेर ‘निम्छरा’ बयान नदिन चेतावनी दिएका छन् । अध्यादेश प्रकरणसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक वा दुबै पद त्याग्नुपर्ने माग चर्किएको थियो । तर ओली पार्टी सचिवालयमा आफ्नो पक्षमा बहुमत पु¥याउन सफल भएका छन् र, तत्कालका लागि त्यो खतरा टरेको छ ।त्यो अवधिमा नेपालका लागि चिनियाँ राजदूतले नेकपा नेताहरुसँग भेटवार्ता गरेकी थिइन् । त्यही कारण कतिपय भारतीय विश्लेषकहरुले ओली सरकार चीनले जोगाइदिएको टिप्पणी गरेका थिए ।
त्यसतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी कहिले कहिले सुन्ने गर्छौं, जानैजानै लागेको थियो फलानो देशको राजदूतले भूमिका खेलेर फेरि आयो । अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा बचन कुनै पनि देशले नबोलिए राम्रो हुन्छ । यो सरकार नेपाली जनताले बनाएको हो, कुनै देशको आशिर्वादबाट बनेको, टिक्ने, ढल्ने, ढालिने कल्पना नगरे हुन्छ ।’
राजीनामा माग्ने डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफ
सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आफ्नो राजीनामा माग्ने डा. बाबुराम भट्टराईलाई पनि जवाफ दिए । बेलायतमा नेभिल च्याम्बरलिनलाई हटाएर चर्चिल प्रधानमन्त्री हुनु अगाडि बेलायती संसदमा इनफ, इनफको नारा लागेको सम्झिँदै उनले भने, ‘शायद अहिलेको सरकारलाई छोडिदिनुपर्छ भन्ने मित्रलाई लागेको हो । नेपाली जनताले गएको चुनावमा इनफ, इनफ एण्ड मोर देन इनफ भनेर त यो सरकार बनाएको हो । त्यसकारण कुनै भ्रम नरहोस्, म आग्रह गर्न चाहन्छु ।’
उनले अघि भने, ‘यो जनादेशबाट आएको सरकार हो, जनादेशलाई कदर गर्छ । इच्छा गर्न त पाइन्छ, म त्यसमा केही भन्दिनँ । अत्यन्त समानका साथ सम्झाउन मात्र चाहन्छु, जनताले इनफ, इनफ भन्छन् कहिलेकाहीँ ।’ इनफ इनफ भनेपछि च्याम्बरलिनले छाडे जस्तो आफूले नछाड्ने संकेत गर्दै उनले भने, ‘एउटै जुत्ता सबै खुट्टामा मिल्दैन । यो च्याम्बरलिन र चर्चिलको दृष्टान्त पनि १९४० को जुत्ता नेपालीको खुट्टामा लगाउन खोज्दा धेरै अगाडि बढिसकेको परिस्थितिमा मिल्दैन ।’
बरु यस्ता प्रयासले तानाशाह जन्माउन सक्ने प्रधानमन्त्री ओलीले बताए । मार्कोस, इदयमिनलाई देखेको भन्दै उनले भने, ‘हामी भन्न चाहन्छौं, नेपालमा कुनै तानाशाहको उदय हुन सक्दैन । कुनै तानाशाह फर्किएर आउने कल्पना नगर्दा हुन्छ । अब नेपालमा अधिनायकवादको सम्भावना छैन ।’
भारतलाई प्रम ओलीको प्रश्न : सिंहमेव जयते कि सत्यमेव जयते ?
प्रधानमन्त्री ओलीले भारतलाई सिंहमेव जयते कि सत्यमेव जयते भनेर प्रश्न गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको मंगलबार जवाफ दिदैँ प्रधानमन्त्री ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता लिइने दृढता प्रकट गर्नुका साथै आफूले भारतलाई उक्त प्रश्न गर्ने जानकारी गराए ।
उनले मन्त्रिपरिषदबाट सोमबार पारित भएको नयाँ नक्साले पाठ्यपुस्तकदेखि लिएर धेरै कुरामा परिवर्तन ल्याउने जिकिर गरे । मानचित्रमा एक खालको परिवर्तन ल्याएको र अरु धेरै कुरामा विस्तारै परिवर्तन आउँदै जाने उनको भनाइ छ । तर यो प्रक्रिया एकदम सजिलो भने नहुने उनले बताए ।
उनले भारतको प्रतीक चिन्हमाथि टिप्पणी गर्दै भने, ‘भारतको एउटा प्रतीक चिन्ह छ, भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनी सत्यमेव जयते लेखेको हुन्छ ।’
उनले ‘सत्मेव जयते’ भारतको चिन्हमुनी लेखिएको भए पनि विश्वासचाहिँँ आफूले गर्ने प्रष्ट पारे । उनले भने, ‘म सोध्नेछु भारतलाई– सिंहमेव जयते कि सत्यमेव जयते ? उनले आफूहरु सत्यमेव जयतेमा विश्वास गर्ने भएकाले नेपालका अतिक्रमित भूमि फिर्ता लिन सक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->