बागलुङ, १३ जेठ– उच्च ज्वरो देखिएपछि रामरेखा क्वारेन्टाइनमा बसेका एक पुरुषलाई धौलागिरी अस्पताल बागलुङको आईसोलेसनमा राखिएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ पैञ्युपाटाका २३ बर्षिय पुरुषमा उच्च ज्वरो देखिएपछि आईसोलेसनमा भर्ना भएका हुन् । भारतको सिमा नाका सुनौलीबाट बडिगाड गाउँपालिकाको खर्बाङहुँदै उनी मंगलबार बिहान ११ बजे मात्रै क्वारेन्टाईनमा पुगेका थिए । उनमा १०२ भन्दा धेरै ज्वरो देखिएकाले आईसोलेसनमा राखिएको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलले बताए ।
उनलाई सुनौली नाकाबाट उद्धार गरेर बागलुङ ल्याईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालले बताए । दिल्लीबाट रेल चढेर उनी सुनौली आएका थिए । पारिवारिक स्रोतका अनुसार, उनी एक महिना पहिले डेंगु ज्वारोका कारण भारतमै थलिएका थिए । भारतमा कोरोनाको त्रास बढ्दै गएपछि उनी नेपाल आएका हुन् ।





