बागलुङ, १४ जेठ– विद्यालय बन्द हुँदा विद्यार्थी घरमै सिमित छन् । दिनभर खेल्ने र समुहमा गफिनेबाहेक उनीहरुले किताब पल्टाएका छैनन् । आफ्ना सन्ततीप्रति चिन्तित अभिभावकले उनीहरुलाई कसरी सिकाईमा सहभागि र स्वअध्ययन गराउने भन्नेमा अन्यौल छन् ।
फुर्सदिला विद्यार्थी र अभिभावकको चिन्तालाई सम्बोधन गर्दै बागलुङको बरेङ गाउँपालिकाका शिक्षकले घरदैलो गरेर अभिभावकलाई जिम्मेबार बनाउन थालेका छन् । विद्यालय र शिक्षकहरुलाई अभिभावकसँग जोडेर शिक्षण सिकाईमा स्वअध्ययनको वातावरण गाउँपालिकाले मिलाएको छ ।
गत शैक्षिसत्रको परीक्षाको नतिजा आयो । सबै विद्यार्थी थप एक कक्षा माथि गए । पाठ्य पुस्तक आएका छैनन् । यावत समस्याका बाबजुध घरमै बसेर पनि अध्ययनमा कसरी लाग्ने, पुराना पाठ्यपुस्तक तथा प्रबिधिको प्रयोग गरेर कसरी सिकाउने र सिक्ने ज्ञान दिँदै शिक्षक नै घरदैलो गर्न थालेका हुन् ।
उनीहरुले अभिभावकलाई आफ्ना बालबच्चालाई पढाईमा सक्रिय बनाउन सिकाउँछन् । त्यसको लागि गाउँपालिकाले ‘हल्लो अभिभावक शिक्षा’ कार्यक्रम बनाएको छ । जुन कार्यक्रममा सबै विद्यालय सहभागि छन् । लकडाउनले पढ्नबाट बञ्चित बालबालिकालाई अध्ययनमा सक्रिय गराउने उद्धेश्यले कार्यक्रम संचालन गरिएको प्रमुख प्रशसकीय अधिकृत रमेश थापाको भनाई छ ।
‘सम्बन्धित विद्यालयको शिक्षक अभिभावकको घर पुग्नुहुन्छ, गृहकार्य गर ेनगरेको जाँच गर्ने र थप गृहकार्य दिने काम पनि भएको छ’ थापाले भने ‘अरु पाठ्य सामग्री तयार गरेर विद्यार्थीलाई पढ्न र अभिभावकलाई त्यसको अनुगमन गर्न भन्ने गर्नुभएको छ ।’ खेर गएको समयलाई विद्यार्थीले बिभिन्न क्रियाकलाप गरेर सदुपयोग गर्न सक्ने उनको धारणा छ ।
‘हामीले पहिलो चरणमा बिद्यार्थीका घरमै पुगेर उनीहरुको अवस्थाबारे अध्ययन ग¥यौं’ भृकुटी माविका प्रधानाध्यापक रुपनारायण शर्मा भन्छन् ‘विद्यार्थीलाई गृहकार्य दिई, पढाईप्रति सचेत गराईयो, अनि अभिभावकलाई पनि भेट्यौँ ।’ घरदैलो सुरु भएपछि विद्यार्थी अध्ययन सामग्रीको खोजी र अक्षर सुधारमा लागेको उनले अनुभव सुनाए । ‘लकडाउनले विद्यार्थीमा पढाईप्रति शुन्यता छाएको थियो, यो कार्यक्रमले उत्साह थपेको छ’ उनले थपे ।
‘कार्यक्रमले बिदाको समयमा पनि विद्यार्थीहरुले ज्ञान हाँसिल गर्ने अवसर पाएका छन्’ ज्ञानोदय प्राविका सह–प्रधानाध्यापक मदन कार्कीले भने ‘कक्षा नचलेर पढाई भएन भन्ने चिन्ता अब रहेन ।’ शिक्षकहरुले विद्यार्थी र अभिभावकलाई फोन गरेरसमेत गृहकार्य र दैनिक अध्ययन गर्ने सामग्रीको बिषयमा छलफल हुने गरेको छ ।
विद्यालयहरुले यो कार्यक्रम चलाएबापत गाउँपालिकाको आर्थिक सहायता पाउँछन् । मावि तहलाई ५ हजार, आधारभूत तहका विद्यालयलाई ४ हजार र प्रावि तहलाई ३ हजार रुपैयाँ गाउँपालिकाले उपलव्ध गराएको छ । सोही रकम शिक्षकले विद्यार्थी र अभिभावकलाई फोन गर्दा लाग्ने खर्च हो । यो कार्यक्रमले बरेङका ३५ विद्यालयका ३ हजारभन्दा धेरै बालबालिका लाभान्वित भएको गाउँपालिकाका शिक्षा समिति संयोजक सूर्य प्रसाद शर्माले बताए ।





