म्याग्दी, १८ जेठ– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखकी एक गर्भवती महिलाको निरन्तर रुपमा रक्तश्राव हुन थालेपछि आइतबार दिउँसो हेलिकप्टरबाट पोखरा लगिएको छ ।
गर्भवती अवस्थामा रगत बगेर सिकिस्त शिखकी नर्दिता गर्बुजालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको गर्भवती सुत्केरी जटिलता कार्यक्रमबाट हेलिकप्टरमार्फत उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको हो ।
गर्भवती महिलाको पेटमा जुम्ल्याहा बच्चा भएकाले स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने भएपछि पोखरा लैजान स्थानीय स्वास्थ्यकर्मीले सुझाव दिएका थिए । महिलाको स्वास्थ्य अवस्था जटिल भएको खबर आएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको समाजिक विकास मन्त्रीका स्वकिय सचिव प्रकाश पौडेलले बताए । दुर्गमका गर्भवती महिलालाई सुत्केरी हुन समस्या भएमा प्रदेश सरकारले हेलीकप्टरमार्फत उद्दार गरी सुविधायुक्त अस्पतालमा लैजाने गरेको छ ।





