म्याग्दी, १९ जेठ– म्याग्दीमा कोरोना भाइरसको संक्रमणसंगै डेंगु र स्क्रव टाइफसका बिरामी बढ्दै जान थालेको छ । आइतबार थप दुई जनामा डेंगु र स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालले जनाएको छ । यो संगै म्याग्दीमा डेंगु संक्रमितको संख्या १२ पुगेको छभने स्क्राव टाइफस संक्रमितको संख्या ५ पुगेको छ ।
बेनी नगरपालिका–६ जरबुटास्थित थाकनपोखरीकी ५४ बर्षिया महिलामा डेंगु र स्क्राव टाइफस तथा मंगला गाउँपालिका–५ छिस्बाङकी ४९ बर्षिया महिलामा डेंगु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार, थाकनपोखरीकी ती महिलामा डेंगु पोजेटिभ देखिएपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छभने छिस्बाङकी महिलालाई बेनी अस्पतालमा भर्ना गरिएको छ ।
उपचारार्थ अस्पताल आएका ती दुई महिलामा अधिक ज्वरो आउने, टाउको र जोर्नी दुख्ने लगायतका समस्या देखा परेको थियो । लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने अस्पतालका प्रमुख डा.अमृत अधिकारीले बताए । यसअघि जिल्लाको मंगला गाउँपालिका–५ अर्मनका १७ बर्षिय पुरुषमा पनि स्क्रव टाइफस र डेंगु पोजेटिभ देखिएको थियो ।





