स्याङ्जा, १९ जेठ– स्याङ्जामा क्वारेन्टाइनबाट घर फर्किँदै गर्दा एक व्यक्तिको बाटोमै निधन भएको छ । फेदीखोला गाउँपालिकाको सिद्धार्थ सामुदायीक बहुमुखी क्याम्पस क्वारेन्टिनबाट घर फर्किँदै गरेका ५० बर्षिया खड्कबहादुर कार्कीको बाटोमै निधन भएको हो ।
जेठ १३ गते भारतबाट सुनौली नाकाहुँदै स्याङ्जा आएका फेदीखोला गाउँपालिका स्थायी घर भएका कार्की जेठ १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । शुक्रबार लिइएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अन्य दुर्इृ जनासंगै आइतबार घर फर्किदै गरेका कार्की अचानक बाटोमै बेहोस भएका थिए ।
रातीनै गाउँपालिकाको सवारीमा गण्डकी प्रादेशिक अस्पताल पोखरामा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । उनको सोमबार पुनः स्वाब परीक्षण गर्दा रिपोट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार, कार्की उच्च रक्तचाप र मुटुको बिरामी थिए । गाउँपालिकाका अध्यक्ष सुवेदीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै कार्कीको मृत्यु कोरोनाका कारण नभएकोले कोही पनि संशकित नहुन आग्रह गरेका छन् । गाउँपालिकाले घटनाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्यमा कुनै पनि समस्या देखिएमा गाउँपालिकामा खबर गर्न सबैमा आग्रह गरेको छ ।





