काठमाडौं, २३ जेठ – कोरोना भाइरस संक्रमण बढ्दै जादाँ शुक्रबार थप २ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या २९ सय नाघेको छ । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसैविच, कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप एकजनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरे। यसअघि कोरोनाकै कारण १० जनाको मृत्यु भएको र शुक्रबार एक थपिएसँगै ११ जना पुगेको उनको प्रष्ट पारे।
बिहीबार मृत्यु भएका सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। जेठ ८ गते भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसेका उनको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर गएका थिए। घर पुगे लगत्तै उनको मृत्यु भएको र पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए।





