स्याङ्जा, २६ जेठ–कोरोना भाईरस (कोभिड–९) को संक्रमण पुष्टि भएर पोखराको गण्डकी अस्पतालमा उपचार गराईरहेका स्याङ्जाका एक बृद्धको आईतवार राती मृत्यु भएको छ । वालिङ नगरपालिका निवासी बृद्धमा कोरोना संक्रमण रहेको आईतवार मात्रै पुष्टि भएको थियो । अस्पतालको आइसुलेसनमा रहेका बृद्धको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । वालिङ नगरपालिका ३ स्थायी घर भएका मृतक बृद्ध भारतबाट २१ गते सुनौली नाका हुदै वालिङ आइपुगेका थिए । वालिङ आएका उनलाई एक रात वालिङ नगरपालिकाको क्वारेन्टिनमा राखेर २२ गते उपचारको लागि पोखरा पठाइएको थियो । मृगौलाको डाइलासिस गर्नु पर्ने र अन्य रोगबाट समेत ग्रसत भएपछि भारतबाट आएको भोलीपल्टै अर्थात २२ गते नै पोखरा पठाइएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिए । मृगौला रोगबाट पिडित बनेका बृद्ध भारतमा उपचारमा समस्या भएको भन्दै श्रीमती सहित नेपाल आएका थिए । मृतक बृद्धको कोरोना संक्रमणको परीक्षण समेत गण्डकी अस्पताल पोखरामा गरिएको थियो । परीक्षणको रिपोट पोजेटिभ आएपछि उनलाई आइसुलेसनमा राखेर उपचार गरिएको थियो । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट पहिलो पटक मृत्यु भएको छभने बृद्धको मृत्यु संगै स्याङ्जा जिल्लाका बिभिन्न क्वारेन्टिनमा बसेकाहरु संगै जिल्ला बासि चिन्तित बनेका छन् । भारतबाट आउँदा उनी र उनकी श्रीमति मात्रै एउटा सवारीमा आएका थिए ।





