बागलुङ, २६ जेठ– धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत चार जनाको कोरोना परीक्षण दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । गत जेठ १४ गते कोरोना पुष्टि भएका बडिगाड गाउँपालिकाका दुई पुरुष र तमानखोला गाउँपालिकाका दुई पुरुषको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिनुभयो । उनीहरुसंगै उपचाररत २ जनाको रिपोर्ट भने पोजेटिभ आएको छ ।
सोही दिन संक्रमण पुष्टि भएका तमानखोला गाउँपालिकाका दुई जना पुरुषको रिपोर्ट भने पोजेटिभ आएको डा. पोखरेलको भनाई छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितको लगातार दुई पटक पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आए अस्पतालबाट डिस्चार्ज गरिने छ । बागलुङका २९ जना कोरोना संक्रमितमध्ये धौलागिरी अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन्भने धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा ९ जना र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्रि–आइसोलेसनामा १ जना रहेका छन् । यसअघि दुई जना महिला उपचारपछि निको भएर घर फर्किसकेका छन् ।





