काठमाडौं, २८ जेठ – सरकारले बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णयसमेत गरेको एक मन्त्रीले जानकारी दिए । सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ । मन्त्रिपरिषद् बैठकले लकडाउनको खुकुलो पार्ने मोडालिटी तय गरेको हो । जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ ।
सकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र त्यसपछि जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो । त्यसपछि सरकारले एकै पटक १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म लम्बाएको थियो । कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्च स्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले अन्तिम पटक जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको हो । लकडाउन लम्बिएपछि सरकारले माेडालिटी परिवर्तनको निर्णय लिएको हो ।





