काठमाडौं, ३१ जेठ – सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजतन्त्र कालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् । प्रतिनिधसभाको शनिबारको बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधिनताको विषय भएको बताए ।
‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आएका छौं,’ प्रचण्डले भने । प्रतिनिधिसभामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको दफावार छलफलका क्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् ।
दाहालले उक्त विधेयकमा नेपालीले जनाएको समर्थनमा आफ्नो पनि ऐक्यबद्बता रहेको बताए । उनले विधेयकमा सुरुदेखि सर्वसम्मति रहँदै आएको र अब पनि सर्वसम्मतिले पारित हुनेमा आफू विश्वस्त रहेको बताए । देशको गुमेको भूभाग फिर्ता लिने चरणमा आइपुगिएको र विगतमा पनि पटकपटक उठाउँदै आइएको उनले बताए ।
अध्यक्ष प्रचण्डले सीमा विवादलाई लिएर छिमेकी राष्ट्रभारतसँग दुश्मनी नचाहेको पनि संसदमा बताए । लामो समयदेखिको भूमि विवादको समाधान कुटनीतिक प्रयासबाट समाधान हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै भूमिलाई लिएर भारतसँग कुनै दुश्मनी नचाहेको बताएका हुन् ।





