स्याङ्जा, २ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारले पीसीआर परीक्षणपछि मात्रै विदेशबाट आएकाहरुलाई क्वारिण्टिनबाट घर पठाउने उद्घोष गरेका छन् । ‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले कोरोना संक्रमण भए पनि लक्षण नदेखिएकालाई १४ दिनपछि परीक्षण विना घर पठाउने भने पनि’ मंग्गलबार स्याङ्जामा उनले भने,‘ प्रदेश सरकारले संक्रमितको पिसिआर परीक्षण गरेर, संक्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउँछौं ।
उनी मंगलबार स्याङ्जामा आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमित र जिल्लामा रहेका आइसोलेसन अस्पतालको निरीक्षण गर्दै थिए । संक्रमण र लक्षण नदेखिएकाहरुलाई परीक्षण बिना नै क्वारिण्टिनबाट घर पठाउन थालिएको, निर्देशिका नै त्यस्तै बनाइएको,लामो समयसम्म स्वाब परीक्षणको रिपोर्ट नआएको र प्रदेश स्वास्थ्य निर्देशनालयको ल्याबमा स्वाब थुप्रिएको बेला मुख्यमन्त्रीले यो अभिव्यक्ति दिएका हुन् । उनले परीक्षण बिना विदेशबाट आएकाहरुलाई घर जान दिँदा त्रास फैलने भएकाले यो व्यवस्था गर्न लागिएको उनको भनाई थियो ।
मुख्यमन्त्री गुरुङले भारतबाट आएकालाई राख्न क्वारिण्टिन व्यवस्थापनसँगै आइसोलेसन अस्पताल निर्माणमा तीनै तहका सरकार बीच सहकार्य आवश्यक रहेकोले पनि बताए । उनले कोरोना भाइरस ( कोभिड १९) को सबै मिलेर सामना गर्नु पर्ने पनि बताए । केन्द्र, प्रदेश र स्थानीय गरि तीनवटै सरकार मिलेर कोरोनाको सामना गर्नु पर्ने बताएका हुन् । मुख्यमन्त्री गुरुङले स्याङ्जाको भीरकोटमा रहेको कालिका सामुदायिक अस्पताल हेलु तथा गल्याङ नगरपालिकामा रहेको नगर अस्पतालको निरीक्षण गर्ने क्रममा कोरोनालाई साहस र आत्मबलले जित्न सकिने भएकोले मनोबल दहो बनाउनु आग्रह गरे ।




