बागलुङ, ७ असार – केही वर्षअघि विद्यालय शान्ति क्षेत्र घोषणा गर्दा विद्यालय हातामा राजनीतिक मात्र नभई अन्य क्रियाकलाप पनि नगर्ने उल्लेख थियो । तर, कोरोना भाइरसको संक्रमणपछि जिल्लाका अधिकांश विद्यालयहरु क्वारेन्टाइन बनेका छन् ।
ती विद्यालयमा कहिले खचाखच, कहिले छिटफुट भएपनि भारत र अन्य विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट आउने क्रम पनि रोकिएको छैन । त्यसैले ती विद्यालय तत्काल खालि हुने संभावना न्यून छ । लकडाउन कायम रहुन्जेल अधिकांश विद्यालयले वास्ता गरेनन् । पछिल्लो समय विद्यालयहरुले पढाई सुचारु गर्न खोज्दैछन् । क्वारेन्टाइन बसेकोले शिक्षकसमेत आफ्नो विद्यालय जान डराउँछन् । बालबालिका बोलाएर पढाउने सम्भावना छैन ।
सरकारले विद्यालयहरु भौतिक दूरी कायम गरेर संचालन गर्दै जाने बताएको छ । तर सबै विद्यालयमा क्वारेन्टाइन बस्दा बालबालिका कहाँ र कसरी बस्छन् भन्ने अन्यौल छ । संक्रमण पुष्टि भएका र शंकाष्पद संक्रमित बसेको स्थानमा सोझै विद्यालय संचालन गर्नु चुनौतिपूर्ण त छ नै कहिले खालि हुन्छ भन्ने पनि
पनि एकिन छैन । धौलागिरी बहुमुखी क्याम्पसमा आइसोलेसन सेन्टर समेत बनाइएको छ । जसले गर्दा क्याम्पस संचालन कठिन हुने निश्चित छ । गलकोट नगरपालिकाको दुइ दर्जन विद्यालय र गलकोट बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाइएको छ । भारतबाट आएकालाई राखेर पीसीआर परीक्षण गर्ने काम भैरहेकोले ती विद्यालय र क्याम्पसमा पनि पढाइ संचालन हुने संभावना अत्यन्त कम छ । शिक्षा मन्त्रालयले पहिलो चरणमा अनलाइन शिक्षाको चर्चा चलायो । त्यसपछि अफलाइन कक्षा र बिस्तारै दूरी कायम गरेर विद्यालय खोल्ने तयारी छ । तर सबै क्वारेन्टाइन भएकोले बागलुङका विद्यालय खोल्ने संभावना नरहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कुश्मराज उपाध्यायले बताए । विद्यालय र इकाईका तर्फबाट पनि पालिकाहरुमा बिकल्प बनाउन आग्रह बढ्न थालेको छ ।‘हामीले बिकल्प खोज्नुहोस् भनेका छौं, तर निर्णय भएको छैन’ त्रिभूवन माबि खरवाङका प्रअ ढालमणि भण्डारीले भने, ‘क्वारेन्टाइन खालि हुने दिन कुरिरहने हो भने अझै ६ महिना बित्नसक्छ ।’ दूरी कायम गरेर पढाउने योजनामा क्वारेन्टाइन बाधक भएको उनले बताए । बडिगाडका माध्यमिक सबै र अन्य पनि अधिकांश बिद्यालयमा क्वारेन्टाइन बनेको छ । बडिगाडमा मात्रै झण्डै एक हजार बढी मानिस क्वारेन्टाइनमा बस्ने र फर्कने क्रम छ ।
धौलागिरी बहुमुखी क्याम्पसमा प्रमुख रामप्रसाद उपाध्यायले राज्यले विद्यालय र शैक्षिक संस्थालाई जोखिमको क्षेत्र बनाएको टिप्पणी गरे । ‘विद्यालयमा बसेकाबाटै बढी कोरोना संक्रमण बढिरहेको छ’ उपाध्यायले भने, ‘विश्व स्वास्थ्यले दिएको मापदण्ड नपुगेका, खानेपानी, शौचालय जस्ता पूर्वाधार नभएका स्थानमा मानिस कोचेर मानवीयता समेत खिल्ली उडाइएको छ ।’ उपाध्यायले विद्यालयमा क्वारेन्टाइन बनाएर मानिस कोच्नुसाटो घरघरमै सुरक्षित क्वारेन्टाइन बन्नुपर्ने सुझाव दिए । ‘वर्षौसम्म विदेशबाट आउने जाने क्रम चलिरहन्छ, अनि विद्यालयलाई सधै बन्धक बनाएर राख्न मिल्छ ?’ उनले भने,‘कोरोना कहरको नाउँमा सबै संस्था ठप्प पार्ने खेल बन्द गर्नुपर्छ ।’ आर्थिक क्रियाकलाप मात्र नभई शैक्षिक क्षेत्रको विकासमा पनि बाधा पुग्ने काम भएको उनले टिपप्णी गरे ।
क्याम्पसले असार १ गतेदेखि बिबिए र बिबिएस तथा बिज्ञानलगायतका संकाय संचालन गर्ने तयारी गरेको थियो । आइसोलेसन बनाएकोले पढाई अबरुद्ध भएको छ । ‘भौतिक दूरी कायम गर्दै पठनपाठन संचालन नगरे कोर्स पनि सकिंँदैन, बिद्यार्थीको भविष्य पनि अन्धकार हुन्छ’ उपाध्यायले भने, ‘बिरोध गर्दा क्याम्पस प्रमुख भएकोले गरेको भन्ने अर्थ लाग्छ, नगरे बिकल्प खोज्ने वास्तै भएन ।’ उपाधयायले नगरपालिकाको रात्माटास्थित भवन रित्तिएको वर्षौसम्म प्रयोग नभएको प्रति कसैको ध्यान नगएको बताए ।
हरेक पालिका तहमा पनि अन्य सामाजिक तथा सार्वजनिक स्थलको प्रयोग गर्ने र लक्षण नदेखिएकालाई होम क्वारेन्टाइनमा बस्ने व्यवस्थापन गर्नुपर्ने सुझाव बढेको छ । पछिल्लो समय लक्षण नदेखिएकालाई १४ दिन आइसोलेसनमा राखेपछि घर पठाउने गरिएको छ । उक्त नियमलेपनि घरमै सुरक्षित बन्ने अबसर मिल्ने धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । ‘अब लक्षण नदेखिएको, १४ दिन बसेको मापदण्डको आधारमा होम आइसोलेसनमा पठाउने निर्देशन प्राप्त भएको छ’ यो बिधिबाट केही संक्रमित डिस्चार्ज भैसकेको छन् ।’ जिल्ला कमाण्ड पोष्ट र पालिकाहरुले विद्यालयमा क्वारेन्टाइन राख्ने बिषयमा सल्लाह नमागेको शिक्षकहरुले पनि बताए । पालिका प्रमुखहरु भने अन्य बिकल्प अभावले बिद्यालय प्रयोग गर्नु परेको बताउँछन् । ‘हामीले प्रिआइसोलेसन बनाउन खोज्दैछौ’ गलकोट नगरप्रमुख भरत शर्माले भने, ‘पूर्वाधार नभएको बेला भएका संरचानको प्रयोग गर्न बाध्य छौं ।’
शंकाष्पद र पुष्टि भएका संक्रमित समेत बसेका विद्यालयका कक्षा कोठा, शौचालय लगायतका स्थानमा डिसइन्फेक्सन छर्नु पर्नेमा नछरिएकोले खतरा भैरहने बिद्यालयका शिक्षकहरु बताउँछन् । जैमिनी नगरपालिकामा पनि ४७ वटा विद्यालयमा क्वारेन्टाइन बनाइएको नगरशिक्षा अधिकारी खेमप्रसाद आचार्यले बताए । ती बिद्यालय खोल्न नमिल्ने भएपछि टोलटोलमा शिक्षक गएर गृहकार्य दिने काम थालिएको छ । बागलुङ नगरपालिकाले रामरेखा आधारभूत विद्यालय र धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान सहित सिमित बिद्यालयलाई मात्र क्वारेन्टाइन बनाएको छ । त्यसैले बिद्यालय चलाउनै पर्दा सहज हुने प्रमुख प्रशासकीय अधिकृत दण्डपाणी शर्माले बताए ।
बागलुङमा अझै १ हजार ६ सय जना क्वारेन्टाइनमा छन् । ती मध्ये १ हजार जनाको रिर्पोट नआएको स्वासथ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । समयमा रिपोर्ट नआएर लक्षण नभएकाहरुपनि महिनादिन देखि क्वारेन्टाइनमै अल्झेका छन् । ‘कोरोनाको असर सकिएर सामान्य वातावरण बन्दा दशैंतिहार सकिन्छ, तत्काल खुलाउने अबस्था छैन, त्यसैले हामीले टोल शिक्षा थालिसकेका छौं’ पाण्डवखानी माबिका प्रअ नबिन बिकले भने, ‘विद्यार्थीको पढ्ने र सिक्ने बानी नछुटोस भनेर जेठदेखिनै पढाउन थालेका हौं ।’ उनीहरुको अनुभव पछि गलकोटका सबै बिद्यालयले टोल शिक्षा थालेका छन् । शिक्षकहरु आफ्नै विद्यालय गएका छैनन् । शंकाष्पद संक्रमित बसेको र लक डाउन पूर्ण नखुलेकोले विद्यालय जान नसकेको गलकोटकै शिवमाबिकी एक शिक्षकले बताइन् ।




