स्याङ्जा, १० असार– स्याङ्जाको आँधिखोला गाउँपालिकाले आगामि आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष शर्मिला देवीले आगामि आर्थिक बर्षका लागि ४६ करोड ६ लाख ६० हजारको बजेट सातौं गाउँसभामा प्रस्तुत गरेकी हुन् । बजेटले भौतिक पूर्वाधार बिकास, कृषि र रोजगारी सिर्जनाका कार्यक्रमहरुमा जोड दिएको छ । गाउँपालिकाले कृषि उद्योग पर्यटन तथा श्रम मार्फत रोजगार सिर्जना गर्न रु ३ करोड ३४ लाख वजेट बिनियोजन गरेको छ । कुल बजेटको ४० प्रतिशत अर्थात् करिव १७ करोड वजेट भौतिक पूर्वाधार क्षेत्रमा विनियोजन गरेको आँधीखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको सुरुवातमै सुविधा सम्पन्न प्रमुख प्रशासकिय भवनको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । पूर्वाधार विकासको वजेट मध्ये सबै वडा कार्यालय सम्म पुग्ने बाटो स्तरउन्नती तथा कालोपत्रे गर्ने नीति तथा कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए ।
गाउँपालिकाको वडा नं. ४ मा रहेको सेपत बाङ्सिङ पञ्चासे सडकको स्तरउनन्तीको लागि बहुवर्षिय कुल १० करोड मध्ये आगामी आर्थिक वर्षको लागि रु ४ करोड बजेट विनियोजन भएको गाउँपालिकाको उपाध्यक्ष शर्मिला देवी पौडेलले जानकारी दिइन् । गाउँपालिकाले आगामी आर्थिक वर्षको कूल बजेट मध्ये चालुतर्फको आर्थिक, सामाजिक, सांस्कृतिक, सामाजिक, सुशासन, न्याय तथा समानता, लैङ्गिक तथा समावेशिकरण एवं कार्यालय संचालन तथा प्रशासनिक तर्फ रु ७ करोड ३७ लाख, पुजीँगत खर्च तथा पूर्वाधार विकास, निर्माण तर्फ रु १८ करोड ५५ लाख र शशर्त कार्यक्रम तर्फ २० करोड १४ लाख वजेट विनियोजन गरेको गाउँपालिकाको उपाध्यक्ष शर्मिला देवी पौडेलले जानकारी दिइन् ।
गाउँपालिकाको शिक्षा क्षेत्रमा कुल वजेटको ३३ प्रतिशत अर्थात् १४ करोड ५० लाख वजेट बिनियोजन गरेको छभने स्वास्थ्य तर्फ ३ करोड २८ लाख वजेट विनियोजन गरेको छ । नीति तथा कार्यक्रम र बजेट आज नै पारित भएको छ ।





