बागलुङ, १७ असार– बागलुङका प्रतिनिधि सभा सदस्य तथा तत्कालिन संविधानसभाका सदस्य ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाण्डौमा निधन भएको छ । मुटुको समस्याका कारण लामो समय देखि शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचार गराईरहेकी उनको निधन भएको हो । अस्पतालले बुधबार बिहान उनको निधन भएको घोषणा गरेको छोरा सागर छन्त्यालले बताए ।
परिवारका अनुसार मुटुमा समस्या देखिए पछि अघिल्लो आइतवार शल्यकृया गरिएको थियो । ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएको छोरा सागरले बताए । उनी अल्पसंख्यक समुदाय (छन्त्याल)बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी थिईन् । उनि २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य हुन् । सांसद छन्त्यालको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कांग्रेस नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेका छन् । छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन् । छन्त्यालको निधन भएपछि कांग्रेसको आजका लागि तय भएको केन्द्रीय कार्य समितिको बैठक र संसदीय दलको बैठक स्थगित भएको कांग्रेसकी सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।





